Techie IT
सोमबार, असोज १२,२०७७

कुकुर आतङ्कले स्थानीय त्रसित, दुई दिनमा ८१ जनालाई भ्याक्सिन


दोलखा, भदौ १४
बौलाहा कुकुरले आक्रमण गरेको भन्दै मेलुङ गाउँपालिकामा रेविजविरुद्धको भ्याक्सिन लगाउन आउनेको भीड लाग्न थालेको छ । दुई दिनको अवधिमा ८१ जना मेलुङका स्थानीय नागरिकले रेविज रोगविरुद्धको भ्याक्सिन लगाएका छन् । महामारी रोग नियन्त्रण महाशाखा टेकु अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले शुक्रबार र शनिबार गरी ८१ जनालाई निःशुल्क भ्याक्सिन लगाएको हो । शुक्रबार ५१ जना र शनिबार ३० जना मानिसलाई भ्याक्सिन लगाएको मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशुम लामाले जानकारी दिए ।

मेलुङ गाउँपालिकामा गत असार महिनामा छाडा कुकुरले टोकेका मध्ये तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले कुकरले टोकेका र उनीहरूको सम्पर्कमा पुगेका मानिसलाई रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको हो । गाउँपालिकाको रोहबरमा महाशाखाले चिकित्सकको टोली खटाएर गाउँपालिकामै पुगेर कुकुरले टोकेका ७ जनाको पहिचान गरी उनीहरू सम्पर्कमा पुगेका समेतलाई पहिलो चरणको रेविजविरुद्धको भ्याक्सिन लगाएको हो ।

वडा अध्यक्ष लामाका अनुसार छाडा कुकुरले टोकेर रेविज रोगको कारण ३ जनाको मृत्यु भएपछि मेलुङ गाउँपालिका–५, ६ र ७ का स्थानीयलाई रेविज रोगविरुद्धको भ्याक्सिन दिइएको हो । गाउँपालिकाको पहलमा निःशुल्क लगाइएको भ्याक्सिनको दोस्रो र तेस्रो डोज भदौ १४ र १९ गते लगाइने तालिका रहेको छ भने चौथो र पाचौँ चरणको डोज त्यसपछि लगाउने तयारी गरेको वडा अध्यक्ष लामाले जानकारी दिए ।

रेविज संक्रमित छाडा कुकुरको टोकाइबाट मेलुङ गाउँपालिका–६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारी, वडा नम्बर ५ का १५ वर्षीय सुरेश विक र वैतेश्वर गाउँपालिका–६, नाम्दु घर भई मेलुङ मामाघर बस्दै आएका ८ वर्षीय कुशल नेपालीको मृत्यु भएको थियो । यता गाउँपालिकाभित्र फार्मेसी खोलेर बसेका स्थानीय स्वास्थ्यकर्मीलाई रेविजविरुद्धको नाममा गलत भ्याक्सिन दिएको आरोपमा प्रहरीले गत बिहीबार पक्राउ गरी हिरासतमा राखेको छ ।

वडा अध्यक्ष लामाका अनुसार अन्य घाइतेहरूमा मानबहादुर तमाङ, रेलिमाई तमाङ, मैया तमाङ, जनार्दन पोखरेल, कालिका श्रेष्ठ, कृतिका श्रेष्ठ र भिमबहादुर श्रेष्ठ रहेका छन् । स्थानीय मेडिकलले गलत खोप लगाएका कारण घाइतेको ज्यान गएको भन्दै आफन्तले मेडिकल सञ्चालकको मेडिकल समेत तोडफोड गरेका छन् । स्थानीयको आक्रोश मेडिकल सञ्चालकविरुद्ध बढ्दै गएपछि बुधबारै मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखाले हिरासतमा राखेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्