Techie IT
मंगलबार, असोज १३,२०७७

नेपालमा कोरोनाबाट एकैदिन २० को मृत्यु


काठमाडौं, भदौ १४
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या बढ्नथालेको छ । केही समय अगाडिसम्म एक अंकमा रहेको मृत्युदर पछिल्लो साता दैनिक दुई अंकमा पुगेको छ । यसले नेपालमा कोरोना भाइरस कडा खालेको देखिएको संकेत गरेको छ । कोरोनाबाट शनिबार मात्रै २० जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि शनिबारसम्मको १२ घण्टामा कोरोनाबाट मृत्यु हुनेमा नौ जना पुरुष र तीन जना महिला रहेका छन् । योसँगै शनिबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको छ । केही बिरामी अहिले पनि अति जटिल अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । भेन्टिलेटर रहने बिरामीलाई अति जटिल मानिन्छ । अहिले पनि करिब तीन दर्जन कोरोना संक्रमित भेन्टिलेटरमा छन् । आईसीयुमा रहने संख्या पनि उल्लेख्य छ ।

२० जना मृत्यु भएकामध्ये छ जना त काठमाडौं उपत्यकाका अस्पतालमै मृत्यु भएका हुन् । काठमाडौंका दुई, ललितपुरका दुई र भक्तपुरका दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । थप अन्यमा सिराहा, पाल्पा, गोरखा, कास्की, बारा, मोरङ, रौतहट र नवलपुरमा एक/एक जनाको मृत्यु भएको छ भने महोत्तरी र पर्सामा तीन/तीन जनाको मृत्यु भएको छ । यस्तै, शनिबार काठमाडौं उपत्यकामा एक सय ८६ सहित आठ सय ८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नेपालमा हालसम्म छ लाख ६९ हजार छ सय २६ जनाको पीसीआर परीक्षण गर्दा ३७ हजार तीन सय ४० जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा प्रदेश नं १ अन्तर्गत इलाममा एक, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, सङ्खुवासभामा तीन र सुनसरीमा २४, प्रदेश नं २ अन्तर्गत धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा पाँच, सप्तरीमा दुई, सर्लाहीमा ८३ र सिरहामा २२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै वाग्मती प्रदेशअन्तर्गत काठमाडाँैमा एक सय ५५, काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना सङ्क्रमण भएको छ । त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीमा तीन, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९, प्रदेश नं ५ अन्तर्गत कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ छन् ।

कर्णाली प्रदेशअन्तर्गत जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा एक, रुकुमपश्चिममा एक र सुर्खेतमा १० जना छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा तीन, बझाङमा २६ र बैतडीमा २१ जना गरी २४ घण्टामा आठ सय ८४ जनामा कोरोना देखिएको हो । तीमध्ये महिला दुई सय ४२ र पुरुष छ सय ४२ छन् ।

हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार चार सय ८६ व्यक्तिको मृत्यु भएसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म जम्मा छ लाख ६९ हजार छ सय २६ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या २० हजार पाँच सय ५५ छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन् ।

अक्सफोर्ड भन्छ : कोरोनाले नेपालमा ठूलो संख्यामा मानवीय क्षति हुने : बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको एक अध्ययनले नेपालमा कोरोनाका कारण अधिकतम ४९ हजार २ सय जनाको मृत्यु हुनसक्ने देखाएको छ । ‘मोडेलिङ अफ कोभिड–१९ स्ट्राटेजी इन नेपाल’ शीर्षकको अध्ययनले सरकारले चाल्ने तीन रणनीतिको अनुमान गर्दै बढीमा ४९ हजार २ सय जना र कममा ३२ हजार ९ सय जनाको मृत्यु हुनसक्ने देखाएको हो ।

अध्ययनअनुसार ‘लो डिस्रप्सन स्ट्राटेजी’अनुसार सबैभन्दा बढी उक्त संख्यामा मानिसहरुको मृत्यु हुनसक्छ, त्यस्तै मध्यमस्तरको ‘मिडियम डिस्रप्सन स्ट्राटेजी’अनुसार ४४ हजार २ सय जनाको मृत्यु हुनसक्छ भने उच्चस्तरीय ‘हाई डिस्रप्सन स्ट्राटेजी’ अपनाए ३२ हजार ९ सय जनाको मात्रै मृत्यु हुनसक्छ । अध्ययनअनुसार सबै कारणबाट हुने मृत्यु उक्त तीन रणनीतिअनुसार कममा १ लाख ९३ हजार, मध्यममा १ लाख ८८ हजार र उच्चमा १ लाख ७६ हजार जनाको मृत्यु हुनसक्छ ।

त्यस्तै यो वर्षको अन्त्यसम्म अन्य कारणसमेत गरी कोभिड १९ बाट उक्त तीन रणनीतिमा कम सावधानी अपनाउँदा ४५ हजार जनाको मृत्यु हुनसक्छ । त्यस्तै मध्यमखाले सावधानीमा ३५ हजार र उच्च सावधानी अपनाउँदा ३१ हजार संक्रमितको मृत्यु हुनसक्छ । प्रतिशतमा भन्नुपर्दा उक्त तीन तहको सावधानीअनुसार क्रमशः कममा २५ प्रतिशत, मध्यममा २३ प्रतिशत र उच्चमा १९ प्रतिशतको मृत्यु हुनसक्छ ।

उक्त अध्ययनले तीन किसिमको रणनीतिमा चाहिने आकस्मिक उपचार कक्ष (आईसीयू)को शय्याको पनि आँकलन गरेको छ । उक्त आँकलनअनुसार कम सावधानी अपनाउँदा नेपाललाई १२ हजार ४ सय शय्या, मध्यममा ८ हजार र उच्च सावधानीमा ६ हजार ६ सय शय्या आवश्यक पर्ने देखिएको छ । त्यस्तै भेन्टिलेटरको हकमा तीनवटै रणनीतिमा समान १ हजार भेन्टिलेटर प्रयोग हुनसक्छ ।

उक्त अध्ययनको निष्कर्षमा भनिएको छ, ‘मध्यम र उच्चस्तरको सावधानी अपनाउनसके ५ हजारदेखि १६ हजार जनाको मृत्यु घटाउन सकिन्छ ।’ त्यस्तै कोरोनाको कारण आईसीयू बेड र भेन्टिलेटरको उच्च माग बढ्ने अध्ययनको अनुमान छ । तर उच्च सावधानी अपनाउँदा यसको कम माग हुने अध्ययनले देखाएको छ ।

यो अध्ययन बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड पोलिसी मेनेजमेन्ट (ओपीएम) र अक्सफोर्ड पोलिसी एन्ड एनालिटिक्स फर हेल्थ अफ द नफिल्ड डिपार्टमेन्ट अफ मेडिसिनले संयुक्त रुपमा गरेको हो । यसले फरक–फरक देशको कोरोना संक्रमणको अवस्था, रोकथाम रणनीति र यसले पार्ने क्षतिको आँकडा प्रक्षेपण गरेको छ । यो अध्ययनपछि विश्वविद्यालयका प्राध्यापिका लिसा ह्वाइट, डा. निकोलस लेचफर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता र डा. रशिद जमनले मे, २०२० मा अन्तिम प्रतिवेदन तयार पारेका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्