Techie IT
बिहीबार, कात्तिक ६,२०७७

बुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण


काठमाडौं, साउन २१
रोबोटिक्स एसोसिएसन अफ नेपालले बुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण गरेको छ । सातवटा रोबोटको विकास गरिसकेको सिस्टर रोबोटको विकास टोलीले मंगलबार उक्त रोबोट हस्तान्तरण गरेको हो । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) नेपाल र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)को आर्थिक सहयोगमा बुटवल धागो कारखानालाई सिस्टर रोबोट गरिएको बताइएको छ ।

यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत वित्तीय सहयोग प्रदान गरिरहेको छ, जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिन्छ । सोहीअनुसार यूएनडीपीले दुईवटा सिस्टर रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको हो । रिकास्टले पाँचवटा रोबोट निर्माण गर्न चार लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सिस्टर रोबोटको निर्माणपश्चात् त्यस रोबोटलाई टेकु अस्पताल, हेटौंडा प्रादेशिक अस्पताल, एपीएफ अस्पतालमा हस्तान्तरण गरिसकेको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल, कान्तिवीर, ओज्टेक तथा रोबोनट्सले गत चैत ३० गते खाना तथा औषधि बोक्ने रोबोट– सिस्टर रोबोटको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो ।

सिस्टर रोबोट ३०० देखि ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ । कोभिड–१९ संक्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न, यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिनको प्रयोग गर्न सकिन्छ ।

विकासकर्ता टोलीले हेटौँडा प्रादेशिक अस्पतालमा आफ्नो पहिलो सिस्टर रोबोट वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेको छ । पहिलो सिस्टर रोबोटको निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो । त्यस्तै दोस्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई दुई लाख मूल्यमा बेचिएको थियो, जसमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को ८६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्