सानो पाइलाले बनायो आइसोलेसन केन्द्र

बीरगञ्ज, साउन २१
समुदायमा आधारित सामाजिक संस्था सानो पाइलाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँगको सहकार्यमा वीरगञ्जस्थित कलवार धर्मशालामा चार शय्या क्षमताको आईसोलेसन केन्द्रको स्थापना गरेको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार बनाएको आइसोलेसन केन्द्रलाई सानो पाइलाले मंगलबारबाट सञ्चालनमा ल्याएको हो ।
नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहने यस आइसोलेसन केन्द्रमा अग्रपंक्तिमा रहेर काम गर्दै संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिनेछ । साथै, सानो पाइलाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता र मापदण्डअनुसारका खाद्यवस्तु प्रयोग गर्दै सोही कार्यविधिअनुसारको भोजन बनाउनेछ ।
एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षितरुपमा आइसोलेसनमा रहेकाहरुसम्म खाना र खाजा पु-याउने व्यवस्था गरेको जनाएको छ । सहायता नेपाल, बिड फोर नेपाल र बूढानीलकण्ठ स्कूल पूर्वविद्यार्थी समाजको आर्थिक सहयोगमा सानो पाइलाले यो आइसोलेसन केन्द्र स्थापना गरेको हो । पछिल्लो समय पर्सामा समुदायस्तरमै कोरोना परीक्षण गर्न थालिएपछि संक्रमितको संख्या अप्रत्याशित रुपमा बढ्दै गएको छ । पछिल्लो हप्तादेखि वीरगञ्ज महानगर कोरोना संक्रमणको हटस्पटकै रुपमा देखापरेको छ ।
कोरोना विशेष अस्पतालहरुमा संक्रमित राख्ने ठाउँ नभएर कतिपय बिरामीहरुलाई चिकित्सकीय परामर्शमा घर (होम आइसोलेसन)मै राखिएको छ । सानो पाइलाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले यस्तो परिस्थितिमा देश/विदेशमा रहेका नागरिकले राज्य संयन्त्रलाई सघाउने माध्यम सानो पाइला बनेको बताए । सानो पाइलाले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता निःशुल्क भोजन, स्वास्थ्य सामग्री वितरण, एकीकृत हेल्प डेस्कसहित कोभिड–१९ का संक्रमितहरुलाई वीरगञ्ज र जनकपुरमा पौष्टिक भोजन खुवाउँदै आएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्