Techie IT
शनिबार, असोज १०,२०७७

रुम्जाटारमा कोरोना अस्पताल


सोलुखुम्बु, भदौ १२
सोलुखुम्बु, ओखलढुंगा र खोटाङका कोरोना संक्रमितलाई उपचार गर्नका लागि अब विराटनगर जानुपर्ने बाध्यता अन्त्य भएको छ । यी तीनवटा जिल्लाका लागि ओखलढुंगाको रुम्जाटारमा कोरोना अस्पताल निर्माण गरिएसँगै तराई जानुपर्ने बाध्यताको अन्त्य भएको हो । गत साउन ३० गतेबाट रुम्जाटारमै कोरोना अस्पताल सञ्चालनमा आएसँगै तीन जिल्लाका कोरोना संक्रमितलाई पीसीआर पोजेटिभ देखिनेबित्तिकै विराटनगर लैजानुपर्ने बाध्यताको अन्त्य भएको छ । रुम्जाटारमा नै कोरोना अस्पताल बनेपछि स्थानीयलाई आर्थिक र भौतिक रूपले समेत सहज भएको बताइएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर तीन जिल्लाका संक्रमित राख्न निर्देशन दिएसँगै ओखलढुंगाको रुम्जाटारमा तत्कालका लािग २० शैय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ । विगतमा पीसीआर पोजेटिभ देखिनेबित्तिकै उपचारका लागी विराटनगर वा धरान लैजानु पर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यताको अन्त्य भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेल बताए । उनका अनुसार रुम्जाटार नजिक हुनका साथै हावापानी समेत सुहाउँदो रहेकाले बिरामीलाई सहज हुने उनको विश्वास रहेको छ ।

रुम्जाटारमा अस्पताल खोलिएपछि सोलुखुम्बुमा कुनै पनि कोरोना संक्रमित नदेखिएकाले अहिले कसैलाई पनि त्यहाँ पठाइएको भने छैन । खकुरेलले भौतिक दूरी समेत नजिक भएकाले निको भइसकेपछि आउन पनि सहज हुने बताए । सोलुखुम्बु र खोटाङबाट विराटनगरको दूरी करिब ४ सय किलोमिटर छ भने ओखलढुंगाबाट ३ सय ५० किलो मिटर छ । संक्रमितलाई विराटनगर पठाउँदा मनोवैज्ञानिक हिसाबले समेत आत्माबल गिर्ने भएकाले रुम्जाटारमा उपचारको व्यवस्था हुनु सुखद भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीको भनाइ छ । अहिले जिल्लामा कोराना संक्रमित देखिएका सबैलाई यही उपचार गराउने गरेको उनले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्