Techie IT
बिहीबार, असोज १५,२०७७

अझै कोरोना बढ्ने सरकारी दाबी साढे ३५ हजार संक्रमित


काठमाडौं,भदौ १२

नेपालमा अझै केही समय कोरोना संक्रमण बढ्ने सरकारी दाबी बाहिर आएको छ । भदौ लागेपछि दैनिक कोरोनाको संक्रमण बढ्ने क्रममा बिहीबार देशभर एक हजार एक सय ११ जनालाई कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र तीन सय ७७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये पनि काठमाडौं जिल्लाका मात्रै थप दुई सय ७० जनामा बिहीबार कोरोना पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ ।

संक्रमणदर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढिरहेको मन्त्रालयको दाबी छ ।

संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न मन्त्रालयले आग्रह गरेको छ । उपचार गर्ने अस्पतालको अभावमा सरकारले उक्त आग्रह गरेको हो । संक्रमण वृद्धि भएसँगै थप चुनौतीको सामान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रालयले कोरोना संक्रमण अझै बढ्ने भन्दै सबैलाई आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरेको छ ।

कोरोनाको कारण बिहीबार मात्र देशभर नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र चार जना पुरुष रहेका छन् । नेपालमा बिहीबारसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय ८९ जना पुगेको छ । नेपालका कोरोना संक्रमितको संख्या ३५ हजार पाँच सय २९ जना पुगेको छ ।

नेपालमा पछिल्लो समयमा घना बस्ती भएको सहरी र ग्रामीण भेगमा कोरोना संक्रमितको संख्या बढेको छ । त्यसैले घना बस्ती भएको क्षेत्र बढी जोखिमपूर्ण बन्दै गएको छ । सरकारले जोखिम घटाउन निषेधाज्ञा लगाए पनि त्यसको पूर्ण पालना हुनसकेको छैन । यसैबीच, सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका १२औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रूपमा तोकेका हुन् । यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । (आर्थिक दैनिक बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्