Techie IT
९ असार २०७८, बुधबार

सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड


काठमाडौं ।
अहिलेको परिस्थितिमा डिजिटल रूपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सोमबार आयोजित ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रममा सहभागीहरूले डिजिटल रूपान्तरण अति अत्यावश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने बताए । ‘अहिले दूरसञ्चार क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ उनले भने, ‘कोभिड विभिन्न चरणमा आउनेछन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौँ । मानव सेवाका निम्ति एकजुट हौँ ।’ साथै उनले विज्ञका सुझावका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए । कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिबद्धताको खाँचो रहेको बताए । ‘प्रतिबद्धता लिएर योजनाबद्धरूपमा अगाडि बढ्ने हो भने डिजिटल रूपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनुपर्छ ।’

नेपालमा डिजिटल रूपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै यसलाई सफल पार्न कानुनीरूपमा बाध्यकारी बनाउनुपर्ने उनको भनाइ थियो । ‘कानुनले बाध्यकारी नबनाउँदासम्म यसमा प्रफेक्ट हुन गाह्रो छ,’ खनालले भने, ‘बाध्यकारी बनाएर नीति लागू गर्नुपर्छ ।’ त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नगरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेको प्रति सजग गराए ।

‘कोभिडको बेलामा सबैभन्दा ठूलो कुरा सूचना प्रविधि रहेछ भन्ने महसुस भएको छ,’ उनले भने, ‘यो बेला अन्य कुनै पनि पूर्वाधारले काम नगरेको बेला सूचना प्रविधि पूर्वाधारले काम गर्दोरहेछ ।’ सबैभन्दा ठूलो भनेको सूचना तथा सूचना प्रविधिको पूर्वाधार हो भन्ने प्रमाणित भएको उनले बताए । यस्तो महत्वपूर्ण क्षेत्रलाई विकास गर्न सहर र ग्रामीण क्षेत्रबीचको ग्याप कम ल्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा आईसीटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । भट्राईले नेपालमा डिजिटल रूपान्तरणको लागि विभिन्न योजनाहरू बने पनि त्यसमा अझै स्पष्टता भइनसकेको बताए । उनले सरकारले सहजकर्ता भूमिका खेल्नुपर्ने र निजी क्षेत्रलाई अगुवाको भूमिकामा राख्नुपर्ने बताए । यस क्षेत्रमा निजी क्षेत्र अगाडि बढ्न नसकेको उनको भनाइ थियो । नीति नियम बनाउँदा अलि अध्ययन गरेर बनाउनुपर्ने र यसमा राजनीतिक प्रतिबद्धता पनि जायर हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरी, ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा प्यानल डिस्कसनसमेत भएको थियो । प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी र उद्योग वाणिज्य महासंघ, आईसीटी विकास समितिका सभापति मंगेशलाल श्रेष्ठको स्रोत व्यक्तिको रूपमा सहभागी थिए ।

टेलिकमका निर्देशक अधिकारीले नेपालमा दूरसञ्चार क्षेत्रमा धेरै राम्रो काम भइरहेको र नयाँ–नयाँ प्रविधिको परीक्षण भएको बताए । राष्ट्रिय योजना आयोगका सदस्य सचिव भण्डारीले राष्ट्रिय योजना आयोगले १५औँ योजनाले सूचना प्रविधि क्षेत्रलाई विशेष ध्यान दिएर अगाडि बढाएको बताए । उनले सबै नागरिकमा सञ्चार पहुँच पु-याउने, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्योग सञ्चालन गर्ने नीति लिएको बताए । दूरसञ्चार क्षेत्रको विकासको लागि ‘कनेक्टिभिटी’ सबैभन्दा ठूलो कुरो भएकोमा उनले जोड दिए ।

कोभिडको कारणले संसारमा डिजिटल प्रविधिको आत्मसाथ २० देखि २५ प्रतिशत बढी भइरहेको तथ्य समेत उनले जानकारी गराएका थिए । त्यस्तै, मंगेशलाल श्रेष्ठले मुलुकमा डिजिटल इकोनोमी हुनुपर्ने भन्दै निजी क्षेत्र र सरकारी सँगसँगै कसरी जान सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, मिश्रले नेपालमा आर्थिक डिजिटलमा भइरहेका कामबारे विस्तृतरूपमा प्रस्तुत गरेका थिए । उनले उपभोक्तालाई सस्तो, सुलभ र सजिलो प्रविधि प्रयोग गर्न कसरी सकिन्छ भन्ने महत्वपूर्ण रहेको बताए । ‘हामी पूर्ण डिजिटाइजतिर जान्छौँ,’ उनले भने, ‘तर यसको लागि विभिन्न तहगतरूपमा विकास हुँदै जानेछ ।’ त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले सरकारले दिइरहेको डिजिटल सेवालाई एउटै प्लेटफर्ममा एकीकृतरूपमा ल्याउनुपर्ने बताए । उपभोक्तासम्म कसरी डिजिटल एप्लिकेसन पु-याउन सकिन्छ, मूल्य घटाउने र सेवा वृद्धि गर्ने कसरी गर्न सकिन्छ भनेर ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल इन्टरनेट व्यवसायी संघका तर्फबाट सुधिर पराजुलीले दूरसञ्चार क्षेत्रको विकासको लागि लागत मूल्य घटाउनुपर्ने बताए । नेपालमा अहिले पनि इन्टरनेटमा ४६ प्रतिशतभन्दा धेरै कर लागिरहेको भन्दै जसरी लागत कम गर्न सकिन्छ । त्यसैअनुसार सेवा सस्तो बनाउन सकिने बताए ।

सन् २००६ देखि हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइएको हो । नेपाल सन् १९५७ डिसेम्बरमा आईटीयूको सदस्य राष्ट्र भएको थियो । सूचना प्रविधिको प्रयोगलाई अधिकतम जोड दिँदै ग्रामीण क्षेत्रसम्म डिजिटल कनेक्टिभिटी तथा फाउन्डेसनको विकास गर्दै डिजिटल डिभाइड कम गर्दै लानु यस दिवसको उद्देश्य रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा दुई सय ५० भन्दा बढीको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार, सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्