Techie IT
आईतबार, कात्तिक ९,२०७७

डम्पिङसाइटको निर्माणमा अवरोध


कञ्चनपर, साउन २१
कञ्चनपरको भीमदत्त नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न निर्माण गर्नलागेको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङसाइट)को स्थानीयले विरोध गरेका छन् । नगरपालिकाले वडा नम्बर ३ र ७ मा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको छ । स्थानीयले धार्मिक स्थल रहेको ठाउँमा आफूहरूसँग समन्वय नै नगरी डम्पिङ साइट बनाउन खोजेको भन्दै विरोध जनाएका छन् । ७ नम्बर वडाका वडा अध्यक्ष शंकर कुँवरमार्फत उक्त क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र निर्माणको तयारी भइरहेको जानकारी पाएपछि स्थानीय आन्दोलित भएको स्थानीय उत्तम बोहराले बताए ।

उक्त क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न नदिने उनले बताए । ‘यहाँ फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न दिदैनौँ,’ उनले भने, ‘नगरभरको फोहोर यहाँ राख्ने कार्य स्थानीयलाई सह्य हुँदैन ।’ स्थानीयसँग कुनै समन्वय नगरी फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न खोजेको स्थानीय सारदा थापाले बताइन् । ‘यहाँ फोहोर व्यवस्थापन केन्द्र बनाउनेबारे हामीहरूलाई कुनै जानकारी दिइएको छैन्,’ उनले भनिन्, ‘नगरपालिकाले जबरजस्ती यहाँ फोहोर व्यवस्थापन केन्द्र बनाउन खोजेको छ ।’ बस्ती नजिकै फोहोर व्यवस्थापन केन्द्र बनाउँदा मानव स्वास्थ्यमा खतरा हुने स्थानीय रतनबहादुर सिंहले बताए । ‘यहाँ फोहर व्यवस्थापन केन्द्र निर्माण गरियो भने यहाँका स्थानीयले विभिन्न रोगको सामना गर्नुपर्छ,’ उनले भने, ‘यहाँ फोहोर व्यवस्थापन गरिनु हुँदैन ।’

स्थानीय जनप्रतिनिधि पनि उक्त स्थानमा फोहोर व्यवस्थापन केन्द्र निर्माणको विपक्षमा उत्रेका छन् । धार्मिक स्थलको रूपमा चिनिएको उक्त वडाहरूमा फोहोर व्यवस्थापन केन्द्र बनाउने कार्य गलत भएको वडा नम्बर ७ का वडा सदस्य गणेश भट्टले बताए । ‘नगरपालिकाले धार्मिक पर्यटकीय स्थल नजिककै फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ,’ उनले भने, ‘यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्छ, यहाँ फोहोर व्यवस्थापन गरिनु हुँदैन ।’ नगरपालिकाले जबरजस्ती रूपमा उक्त क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र बनाउन खोजेको उनी बताउँछन् ।

‘स्थानीयको विरोध हुँदा समेत नगरपालिकाले यहाँ फोहोर व्यवस्थापन केन्द्र बनाउन खोजेको छ,’ उनले भने, ‘नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अन्य विकल्प खोज्नुपर्छ ।’ नगरपालिकाले वडा नम्बर ३ र ७ मा फोहोर व्यवस्थापन केन्द्र निर्माणको अन्तिम तयारी गरेको वडा नम्बर ७ का अध्यक्ष शंकर कुँवरले बताए । यद्यपि वडावासीको धारणाअनुसार काम हुने उनले बताए । आफू पनि उक्त क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र बनाउन नहुने पक्षमा रहेको बताए ।

यता क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत गणेशसिंह ठगुन्नाले भने उक्त क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि अन्तिम तयारी नभएको बताए । ‘त्यहाँ फोहोर व्यवस्थापन केन्द्र बनाउने भनेर प्रारम्भिक सर्भे भएको छ,’ उनले भने, ‘अन्तिम तयारी भने भएको छैन ।’ भीमदत्त नगरपालिकामा विगत लामो समयदेखि डम्पिङसाइटको स्थानको विवादले हालसम्म पनि फोहोर फाल्ने डम्पिङसाइट बनाउन सकेको छैन । डम्पिङसाइट बनाउनका लागि वडा नम्बर २, ३ र ७ को जमीनलाई प्रयोग गर्नमा नगरपालिका अग्रसर रहेको बताइएको छ । तर उक्त क्षेत्रमा स्थानीय र जनप्रतिनिधिको सहमति नमिल्दा डम्पिङसाइट बनाउने क्षेत्र तय हुनसकेको छैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्