Techie IT
आईतबार, असोज ४,२०७७

कञ्चनपुरको पिल्लरीफाँटा गाउँ अझै सुविधाविहीन


कञ्चनपुर, भदौ ११

कञ्चनपुरको शुक्लाफाँटा नगरपलिकाको पिल्लरीफाँटा गाउँका स्थानीयहरु अझै पनि बिजुली नपाएर अन्धकारमा बसिरहेका छन् । उक्त गाउँमा हालसम्म कुनै पनि प्रकारका सेवा पुग्न सकेको छैन ।

करिब ५ सय बढी परिवारको बसोबास रहेको बस्ती हो, शुक्लाफाँटा नगरपालिका–८ को पिल्लरीफाँटा । यहाँ बस्ती बसेको पनि २ दशक भइसक्यो । तर, गाउँमा अझै पनि सडक, खानेपानी, सिँचाइ र बिजुली पुग्न सकेको छैन । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली हुन्छन् तर पिल्लरीफाँटा गाउँका स्थानीय भने टुकीको धिपधिपमा चित्त बुझाउँदै आएका छन् ।

‘रातभरि छिमेकी गाउँहरुमा बिजुली बलेको देखिन्छ,’ स्थानीय विक्रम जप्रेल भन्छन्, ‘हाम्रो गाउँमा बस्नेहरु टुकीको साहारा तथा सोलार बत्ती बालेर बस्छन् ।’ गाउँ–गाउँमा सिंहदरबार आए पनि पिल्लरीफाँटामा सिंहदरबार नपुगेको उनी बताउँछन् । ‘गाउँ–गाउँमा सिंहदरबार छ भन्छन्,’ उनले भने, ‘तर, हाम्रो गाउँमा अझै खानेपानी, सिँचाइ, विद्युत्लगायतका विकास भएको छैन, कहाँ छ र सिंहदरबार ?’ २०५८ सालमा बसेको पिल्लरीफाँटा गाउँमा विकास नभएको स्थानीय पदम जप्रेल बताउँछन् ।

‘यहाँ बस्ती बसेको २ दशक हुँदैछ,’ उनले भने, ‘तर, यहाँका जनप्रतिनिधिलगायत नेताहरुले विकास गर्न नचाहेले विकास हुन सकेको छैन । पानी खान पनि चार पाँच घरका मिलेर एउटा नल्का आफैँले हालेर चलाएका छौँ ।’ वर्षौँदेखि पिल्लरीफाँटाका स्थानीय अन्धकारमय जीवन बिताइरहेको उनको भनाइ छ ।

‘गाउँमा दिनभरि चहलपहल हुन्छ, सूर्यास्त भएसँगै गाउँ सुनसान बन्छ,’ उनले भने, ‘स्थानीय वर्षौदेखि सोलार बत्ती र टुकी बालेर रात बिताइरहेका छन् ।’ गाउँमा विद्युत् नहुँदा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीय शंकर सार्कीले बताए । ‘विद्युत् नहुँदा गाउँका स्कुल पढ्ने भाइबहिनीहरु समस्या परेका छन्,’ उनले भने, ‘कोरोनाका कारण अहिले स्कुलहरु बन्द छन्, विद्यार्थीहरुले सिकेका कुरा समेत बिर्सिसकेका छन्, घरमै किताब पढ्न बिजुली छैन ।’

गाउँको नाम परिवर्तन भयो तर भएन विकास;

स्थानीय तहमा जनप्रतिनिधि आएपछि पिल्लरीफाँटा गाउँको नाम परिवर्तन गरेर मणिका धाम टोल राखियो । तर, गाउँमा विकास भने हुन सकेन । पिल्लरीफाँटा गाउँको नाम परिवर्तन गरेर मणिका धाम टोल राखिए पनि गाउँमा विकास नभएको स्थानीय मोहन लुहारले बताए । ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँ पनि विकास हुन्छ भने आशा गरेका थिए,’ उनले भने, ‘तर, जनप्रतिनिधिले गाउँको नाम मात्रै परिवर्तन गरे, विकास गरेनन्, गाउँको नाम परिवर्तन गरेको पनि १ वर्ष भयो ।’

जनप्रतिनिधिहरुले पिल्लरीफाँटा गाउँको नाम परिवर्तन गरेर गाउँमा विकास भने पनि अहिले विकास निर्माणमा चासो नदिएको उनी बताउँछन् । ‘गाउँको नाम परिवर्तन भएसँगै गाउँमा विकास हुन्छ भनेर वडा समितिले नाम परिवर्तन गरेको थियो,’ उनले भने, ‘तर, गाउँका समस्या अहिले पनि जस्ताका त्यस्तै छन् ।’

भोटबैंक बन्यो पिल्लरीफाँटा;

पूर्व–पश्चिम राजमार्गबाट १५ किलोमिटर टाढा उत्तरमा पर्छ पिल्लरीफाँटा गाउँ । यो गाउँमा ५ सय बढी परिवारको बसोबास छ । यहाँ हरेक चुनावमा विभिन्न दलका उम्मेदवार र नेताहरु मत माग्न पुग्छन् । चुनावमा सबै पार्टीका नेता तथा उम्मेदवार विकास दिन्छौँ भनेर आए पनि चुनाव जितेपछि गाउँमा नफर्किने गरेको स्थानीय बताउँछन् ।

‘अहिलेसम्म भएका चुनावहरुमा हामी भोट बैंक बन्यौँ,’ स्थानीय जयबहादर जप्रेलले भने, ‘चुनावमा उम्मेदवारहरुले खानेपानी, सिँचाइ, विद्युत् दिन्छौँ भनेका थिए, विकास गछौं भन्नेहरु चुनाव जितेपछि गाउँमा आउँदैनन् ।’ प्रत्येक निर्वाचनमा यहाँका स्थानीयलाई नेताहरुले भोट पाउनका लागि विभिन्न किसिमका आश्वासन दिन्छन् ।तर, पिल्लरीफाँटाको समग्र विकासका लागि कसैले पहल नगरेको उनी बताउँछन् ।

पिल्लरीफाँटा गाउँ कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । निर्वाचनको क्रममा प्रतिनिधिसभा सदस्य नरबहादुर धामी, प्रदेशसभा सदस्य महेशदत्त जोशी, नगरप्रमुख दिलबहादुर ऐर र वडा अध्यक्ष बहादुरसिंह महराले गाउँमा विद्युत्, खानेपानी, सिँचाइ र सडक सेवा पु¥याउने आश्वासन दिएका थिए । तर, अहिलेसम्म गाउँमा बिजुली सेवा विकास नभएको स्थानीय मोहन लुहार बताउँछन् ।

विद्युत् जडानका लागि कसैले पहल नगर्दा अँध्यारोमै बस्नुपरेको उनी बताउँछन् । ‘हामीले स्थानीय नेताहरुबाट सयौँ पटक अश्वासन मात्रै पायौँ, तर विद्युत् सेवा पाएनौँ,’ उनले भने, ‘हामी गरिबलाई अँध्यारोमा बसेको कसैले देख्दैन ।’ पिल्लरीफाँटा गाउँमा बाल्ने तयारी भइरहेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए । ‘पिल्लरीफाँटामा बिजुली जडानका लागि पोल फालिसकेको छौँ,’ उनले भने, ‘केही पोलको कमी छ, पोलको व्यवस्थापन भएपछि बिजुली बाल्छौँ ।’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्