प्रहरीमाथि हातपात गर्नेलाई छुटाउन प्रशासनमा धर्ना

सोलुखुम्वु, भदौ ११
प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गर्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्नासहित नाराजुलुस गरेको छ ।
गत आइतबार सोलुदुधकुण्ड नगरपालिका ११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलिमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेका तरुणदलका नेता कार्यकर्तासहित ६ जनालाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि कांग्रेसले धर्ना दिएको हो । पक्राउ परेकालाई बिनासर्त छोड्न कांग्रेसले माग गरेको छ ।
धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पालगायतका व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुले आफ्ना कार्यकतालाई झुटा आरोप लगाएर फसाइएको, हिरासतमा यातना दिइएको लगायतका आरोप समेत लगाएका छन् ।
फरक पार्टीको सरकार भएकाले कांग्रेसलाई नियोजित ढंगबाट फसाउन खोजिएको भन्दै प्रहरी, प्रसाशन समेत एक पक्षीयरुपमा अघि बढेको कांग्रेसको आरोप छ । यता प्रहरीले भने रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेका प्रहरी टोलीमाथि उनीहरुले एक्कासी हातपात गरेपछि पक्राउ गरिएको बताएको छ ।
ती युवाहरुले प्रहरी सहायक निरीक्षक सरयुग महतोसहितको प्रहरी टोलीलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । युवाले प्रहरीलाई लडाएर लात्ती, मुक्का र क्यान बियर प्रहार गरेर घाइते बनाएको प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए ।
पक्राउ परेका व्यक्तिहरुको विषयमा सत्यतथ्य अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन् । तर यता नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बस्नेतले भने २४ घण्टाभित्र निर्दोष आफ्ना कार्यकता रिहा नभए थप सशक्त आन्दोलन अघि बढाउने चेतवानी दिए ।
यता सर्वसाधरण नागरिकले भने यस्ता घटनालाई राजनीतीकरण गर्नुभन्दा सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । जुनसुकै घटनालाई राजनीतीकरण गरिँदा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्ने स्थानीय पेशल खड्काको भनाइ छ । राजनीतिका कारणले दोषीहरुले उन्मुक्ति पाए अराजकताले प्रश्रय पाउने स्थानीयनको भनाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्