Techie IT
बुधबार, कात्तिक १२,२०७७

एपीएफ टोलीद्वारा लागू औषद तथा चोरी पैठारीका सामानसहित पक्राउ


काठमाडौं,भदौ १०

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका- ७ ठुलो टिकेनीबाट आज एपीएफ टोलीले करीव ८० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको उदयपुरगढी गाउँपालिका १ बस्ने २९ वर्षिय पुण्यबहादुर मगर र सोही गाउँपालिका ३ बस्ने ४३ वर्षिय रामकुमार गोले छन् ।

उदयपुरबाट सिराहतर्फ जाँदै गरेका उनीहरुको साथबाट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले चार बोरा तयारी गाँजा फेला पारेपछि पक्राउ गरेको छ ।

यस्तै गरेर सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित सीमा इलाकाबाट आजैे एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहारमा घर बताउने २२ वर्षिय कमलेश्वर साह छन् ।उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट अभयनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ३ बोतल, नाईट्राभेट १० पत्ता र पुसम ट्याब्लेट ८ वटा फेला परेपछि पक्राउ गरेको हो ।

यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिका ६ सिर्सियाबाट हिजो एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पोखरीयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी महोत्तरी जिल्लाको शम्सी गाउँपालिका ७ चाँदनी चोकबाट हिजो नै एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट शम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले भाद्र ९ गते करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा कस्मेटिक सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिबाट बरामद गरेकोे हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ भने पक्राउ परेका सवैलाई अवश्यक कारवाहीको लागि सम्वन्धित ठाउँमा पठाएको सशस्त्र प्रशरी वलको सुचना विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्