Techie IT
मंगलबार, मंसीर १६,२०७७

समुदायस्तरमा कोरोनाको उच्च जोखिम


दोलखा, भदौ १०
जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । दोलखामा एक महिनाको अवधिमा दुई दर्जन मानिसमा कोरोना संक्रमण देखिएको छ । मंगलबार जिल्लाको बिगु गाउँपालिकामा थप दुई जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिगु गाउँपालिकाबाट कोरोना परीक्षणका लागि पठाएको २४ जनाको स्वाबमध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमित गौरीशंकर गाउँपालिकाभित्रका स्थानीय बोलेरो चालक र सप्तरी जिल्ला ठेगाना भएका स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेका छन् । योसँगै जिल्ला कोरोना संक्रमितको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । त्यस्तै जिल्लामा कोरोना निको हुनेको संख्या पाँच पुगेको छ । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको दोलखा जिल्लामा हालसम्म चारवटा स्थानीयतहमा कोरोना संक्रमण भेटिएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा कोरोना संक्रमण देखिएको हो । सबैभन्दा बढी जिल्लाको गौरीशंकर गाउँपालिकाभित्रका मानिसमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । गौरीशंकर गाउँपालिकामा मंगलबारसम्म १४ जना मानिसलाई कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकअनुसार जिल्लामा हालसम्म एक हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्