Techie IT
बुधबार, कात्तिक ५,२०७७

क्लोथ बैंकद्वारा थप १० सिलिन्डर हस्तान्तरण


जनकपुरधाम, भदौ १०
क्लोथ बैंक धनुषाले थप १० वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरेको छ । काठमाण्डौंकोे किर्तीपुर–१ स्थित स्टेप टु इलिमिनेट पोभर्टी नामक संस्थाले सानो साइजको सो १० थान अक्सिजन सिलिन्डर बैंकको अभियानलाई सहयोग गरेको हो ।

लुगा आवश्यकता भएका गरिब विपन्नहरुका लागि लुगाको व्यवस्था गर्दै आएको बैंकले कोभिड १९ महामारीका बेला अस्पतालमा बेडको अभावमा होम आइसोलेसनमा रहेकाहरुलाई निःशुल्क चिकित्सकीय परामर्श र आवश्यक रहेकालाई निःशुल्क अक्सिजन सिलिन्डरको समेत व्यवस्था गरिरहेको छ । सोही कार्यक्रमअनुरुप बैंकले धनुषामा मंगलबार थप १० गरी कुल २२ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ । चिकित्सकको निगरानी र परामर्शमा रहेका संक्रमितलाई चिकित्सककै सिफारिसमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसअघि बैंकले पहिलो चरणमा १२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो । बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिलेसम्म दाताहरुवाट कुल ६० वटा सिलिन्डरको प्रतिबद्धता आइसकेकोमा २२ वटा प्राप्त भइसकेको छ । धनुषाबाट सुरु भएको अभियानमा प्रदेश २ का आठवटै जिल्लाका संक्रमितहरु लाभान्वित भएका छन् । अभियानको सूचनाहरु हेरेपछि अहिलेसम्म पर्साका १८, सर्लाहीका चार, महोत्तरीका दुई, सिरहाका दुई र सप्तरीका दुई जना संक्रमित चिकित्सकहरुको सम्पर्कमा रही परामर्श लिइरहेका छन् । त्यसैगरी धनुषाका कुल ३० जना संक्रमितहरु परामर्श लिइरहेको बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्