Techie IT
बिहीबार, असोज ८,२०७७

पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत, भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडानको तयारी


काठमाडौं, भदौ १०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि गत आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको उल्लेख गरिएको छ । भर्चुअल बैठकमार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पुँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए ।

‘कोभिड–१९ महामारीका कारण पुस–माघ महिनादेखि असार–साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पुँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालू खर्चमा ८० प्रतिशत प्रगति भएको छ’, उनले भने ।

मन्त्रालयको आव २०७५/०७६ मा कुल बजेट ३३ अर्ब १३ करोड ३७ लाख रुपैयाँ रहेको थियो भने आव २०७६/०७७ मा २१ अर्ब २१ करोड ६९ लाख कुल बजेट रहेको थियो । आव २०७५/०७६ मा ८१ प्रतिशत रहेको औसत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो ।

यसका साथै कोभिढ–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको प्रतिवेदनमा उल्लेख छ । तथापि, महामारीकै बीच पनि मन्त्रालयले कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको जनाएको छ ।

मन्त्रालय मातहतका राष्ट्रिय गौरवको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको छ । यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीका बीचमा पनि निरन्तर भएका छन् । भैरहवा विमानस्थल सन्निकट सञ्चालनको तयारीमा छ । पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ । अबको तीनदेखि ६ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा विलम्ब भएको जनाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता : सार्वजनिक गरिएको प्रतिवेदनमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा पनि सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ । हालसम्म चार सय ५३ सम्पदाको पुनर्निर्माण कार्य सकिएको जनाइएको छ । सुन्धारास्थित निर्माणाधीन २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको र हालसम्म ११ तला बनिसकेको मन्त्रालयले जनाएको छ । रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए । पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ । ग्रेट हिमालयन ट्रेटलको ७७ किलोमिटर निर्माण सकिएको छ भने १२७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न एक सय ९२ गन्तव्यमध्ये एक सय २२ को शतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । बहुप्रतीक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेका छन् ।

निगमको सम्पत्ति ५४ अर्ब १७ करोड : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ । निगमको ४५ अर्ब ९४ करोड रुपैयाँ ऋण रहेको पनि मन्त्रालयले जनाएको छ । निगमको खुद सम्पत्ति आठ अर्ब २३ करोड रुपैयाँ रहेको छ । निगमले गत वर्ष महत्वपूर्ण गन्तव्यको रुपमा जापानको नारितामा सिधा उडान सुरु गरेको थियो । कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वान्झाउ उडान गर्ने तयारी गरेको छ ।

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताए । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उनले जानकारी दिए । भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिएका छन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्