Techie IT
सोमबार, असोज १२,२०७७

एक दर्जन वाणिज्य बैंकहरुमा क्रस होल्डिङ सेयर

राष्ट्र बैंक भन्छ, ‘विचार र उद्देश्य मिल्ने बैंकहरु स्वेच्छाले मर्जरमा जाऊन्’


काठमाडौं, साउन २१
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये आधा दर्जन बैंकहरुमा एउटै व्यक्ति तथा व्यावसायिक समूहहरुको क्रस होल्डिङ सेयर रहेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको साउनमा नै परिपत्र जारी गर्दै सबै बैंकहरुलाई क्रस होल्डिङ सेयरबारे जानकारी दिन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले यस्तो निर्देशन दिनुुको एउटै कारण वाणिज्य बैंकहरुलाई मर्जर तथा प्राप्तिमा जानको लागि दबाब दिनुु थियो । एउटै व्यक्ति तथा समूहको सेयर स्वामित्व रहेको बैंकहरुलाई मर्जर तथा प्राप्तिमा जानको लागि प्रोत्साहित गर्न पनि सजिलो हुुने भन्दै राष्ट्र बैंकले उक्त विवरण माग गरेको थियो । तर एक वर्षभित्र पनि बैंकहरुले क्रस होल्डिङ सेयरबारे पर्याप्त जानकारी राष्ट्र बैंकलाई दिएका छैनन् । यदि सम्बन्धित बैंकहरुले क्रस होल्डिङ सेयरसम्बन्धी पर्याप्त जानकारी राष्ट्र दिएका थिए र राष्ट्र बैंकले पनि बिग मर्जरलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउँथ्यो भने अहिले झण्डै एक दर्जन वाणिज्य बैंकहरु मर्जर भइसक्थे ।

बैैंकिङ क्षेत्रमा अहिले एक दर्जन संस्थाहरुमा क्रस होल्डिङ सेयर रहेको छ । पुुरुषोत्तमलाल संघाई अध्यक्ष रहेको त्रिवेणी ग्रुुपको एनएमबी बैंक र राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । जगदीश प्रसाद अग्रवाल अध्यक्ष रहेको व्यावसायिक समूह विशाल ग्रुुपको पनि एनआईसी एसिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनएमबी बैंकमा क्रस होल्डिङ सेयर रहेको छ ।

जीत बहादुर श्रेष्ठ अध्यक्ष रहेको एनबी समूहको नेपाल बंगलादेश बैंक (एनबी) र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) क्रस होल्डिङ सेयर रहेको छ । विनोद चौधरी अध्यक्ष रहेको व्यावसायिक घराना चौधरी ग्रुुपको पनि नबिल बैंक र युुनाइटेड फाइनान्समा क्रस होल्डिङ सेयर रहेको छ । यसैगरी राजेन्द्र खेतान अध्यक्ष रहेको खेतान समूहको लक्ष्मी बैंक र हिमालयन बैंकमा क्रस होल्डिङ सेयर रहेको छ भने पवन कुमार गोल्यान अध्यक्ष रहेको गोल्यान समूहको पनि एनएमबी बैंक र एनआईसी एसिया बैंकमा क्रस होल्डिङ सेयर रहेको छ ।

यसैगरी चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई समूहको पनि ग्लोबल आईएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा सञ्चालक समितिको अध्यक्ष रहेको पृथ्वी बहादुर पाण्डेको पनि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । पाण्डे तत्कालीन समयमा हिमालयन बैंकको संस्थापक समेत रहेका थिए ।

एकाघर परिवारको सदस्यको रुपमा रहेका व्यवसायी प्रबलजंग पाण्डे र प्रतापजंग पाण्डेको नाउँमा पनि सिटिजन्स बैंक र इन्टरनेशनल लिमिटेड र सिभिल बैंकमा क्रस होल्डिङ सेयर रहेको छ भने एकाघर परिवारका सदस्यकै रुपमा रहेका राजेन्द्रदास श्रेष्ठ र राजेश कुमार श्रेष्ठको पनि प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकमा क्रस होल्डिङ सेयर रहेको छ ।

विचार र उद्देश्य मिल्ने बैंकहरु मर्जरमा जाऊन् भन्ने उद्देश्य हो
देव कुमार ढकाल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले भर्खर मात्र मौद्रिक नीति जारी गरेको छ । सोहीअनुुरुप चालू आर्थिक वर्षको बजेटमा समेत समावेश भएको बिग मर्जरलाई हामीले मौद्रिक नीतिमा पनि समावेश गरेका छौँ । मौद्रिक नीति कार्यान्वयनको क्रममा जाँदा बिग मर्जरले प्रोत्साहन पाउँछ । अहिले वित्तीय क्षेत्रमा क्रस होल्डिङ सेयर भएका बैंकहरुको बारेमा चर्चा परिचर्चाहरु हुुन थालेका छन् । राष्ट्र बैंकले पनि सम्बन्धित व्यक्ति, निकाय तथा संस्थाहरुसँग क्रस होल्डिङ भएको बैंकहरुको बारेमा जानकारीहरु माग गरिरहेका छौँ ।

केहीको विवरण प्राप्त भएका छन् भने केही विवरणहरु आउने क्रममा नै छन् । सोही कारण अहिले नै राष्ट्र बैंकले कति बैंक तथा वित्तीय संस्थाहरुमा क्रस होल्डिङ सेयर रहेको छ भन्न सक्दैन । यसको लागि केही समय लाग्ला । राष्ट्र बैंकको उद्देश्य भनेको एकाघर परिवारका सदस्यहरु, व्यक्ति वा संस्थाहरुको क्रस होल्डिङ सेयर रहेका बैंकहरु मर्जर हुन् भन्ने हो । यस्ता बैंकहरु स्वेच्छाले आफैँ मर्जरमा जाऊन् भन्ने चाहना राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकको नियमअनुसार अहिले ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त÷पुनः नियुक्त हुन योग्य हुनेछैन । साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन सक्नेछैन । तर, २०७८ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुनबाधा पर्नेछैन ।

यो परिपत्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुुको एउटै उद्देश्य ठूला र क्रस होल्डिङ सेयर भएका बैंकहरु एक आपसमा मर्जर हुुन् भन्ने हो । यसरी नीतिगतरुपमा सहुुलियत दिँदा पनि बैंकहरु मर्जरमा गएनन् भने मर्जरको मामलामा राष्ट्र बैंकले अलि कडा कदम चाल्नुुपर्ने हुन्छ । क्रस होल्डिङ सेयर र बिग मर्जरलाई प्रोत्साहन गर्ने थप नीति कस्तो हुन्छ नै सार्वजनिक गरिहाल्ने विषय होइन ।

मर्जरका विषयमा राष्ट्र बैंकले अझै कडा कदम चाल्नुुपर्छ
अनलराज भट्टराई, बैंकिङ विज्ञ
मर्जरका विषयमा राष्ट्र बैंकले अझै कडा कदम चाल्नुुपर्छ । जुुन समयमा राष्ट्र बैंकले पुँजी वृद्धिको योजना कार्यान्वयनमा ल्याएको थियो यदि त्यो समयमा पुँजी वृद्धिको लागि हकप्रद सेयरलाई मान्यता नदिएको भए अहिले वाणिज्य बैंकहरुको संख्या १०/१२ वटामा सीमित रहन्थ्यो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व अर्थतन्त्र नै निकै कमजोर भएको छ । कोरोना महामारी अझै बढ्दो छ । यो अवस्थामा कोरोनाको असर कस्तो हुन्छ, कहिलेसम्म रहन्छ भन्ने कसैलाई थाहा छैन । यही स्थिति कायम रहे विश्वले सन् १९३३ को भन्दा डरलाग्दो मन्दीको सामान गर्नुुपर्नेछ । यो अवस्थामा वित्तीय स्थायित्व र वित्तीय सबलताका लागि बैंकहरु बलियो हुुनैपर्छ । हाम्रो अर्थतन्त्र अहिले ३२ अर्ब डलरको मात्र रहेको छ । यो अवस्थामा मुुलुकको सिंगो अर्थतन्त्रलाई बलियो बनाउनको लागि पनि मर्जर आवश्यक छ ।

अहिले बिग मर्जरको कुरा चलेको छ । हामी बिग बैंक नै छैन भने कसरी बिग मर्जरको कुरा आउँछ । यो अवस्था क्रस होल्डिङ सेयर भएको वा नभएको सबै बैंकहरुलाई मर्जर गरेर अहिले संख्या घटाउँदै १० वटामा सीमित राख्नुुपर्छ । राष्ट्र बैंकको नीतिगत सहुुलियतका कारण अहिले बैंकहरु नाफामा देखिएका हुुन् । सधैँ त्यो अवस्था नरहन सक्छ । यो अवस्था अहिले वाणिज्य बैंकहरु स्वयं नै हामी मर्जमा जान्छौँ, संख्या घटाउन चाहन्छौँ भनेर जानुपर्थ्यो । बरु हामीलाई मर्जरमा जानको लागि चाहिने आवश्यक सबै किसिमका नीतिगत सहुलियत देऊ भन्नुुपथ्र्यो । तर अझै पनि मर्जरमा जान नचाहनुु राम्रो होइन ।

अहिले नेपालमा तीनवटा सरकारी बैंकहरु रहेका छन् । यी बैंकहरुले पनि आफ्नो ग्रोथ गर्नुुपर्छ । वित्तीयरुपमा सबल बन्नुुपर्छ । यी बैंक सबल बने भने यसलाई निजी क्षेत्रका बैंकलाई पनि अझ सबल बन्न नैतिकरुपमा दबाब दिन्छ । अहिले नेपाली बैंकिङ क्षेत्रमा सरकारी बैंकको योगदानको हिस्सा जम्मा १५ प्रतिशत रहेको छ । यसलाई बढाएर ४० प्रतिशत बनाउन सकियो भने यसले निजी क्षेत्रका बैंकलाई पनि सबल र प्रतिस्पर्धी बन्न घचघचाउँछ ।

जहाँसम्म क्रस होल्डिङ सेयर भएका बैंकहरुको कुरा छ, राष्ट्र बैंकले क्रस होल्डिङलाई कुुन मापदण्डका आधारमा परिभाषित गर्छ, त्यो राष्ट्र बैंकको कुरा हो । तर एकारघर परिवारको सदस्यहरु सेयरधनी रहेको, एकाघर परिवारका सदस्य रहेको व्यावसायिक समूहहरुको लगानी रहेको धेरैवटा बैंकहरु रहेका छन् । यो अवस्थामा बैंकहरु स्वयं नै बदलिँदो विश्व परिवेशलाई ध्यानमा राखेर स्वेच्छाले मर्जरमा जानुपर्छ । क्रस होल्डिङ सेयर भएको वा नभएको जे भएपछि बैंकहरुको वित्तीय क्षेत्र सबल र सक्षम हुुनको लागि बैंकहरुको मर्जरमा जानैपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्