Techie IT
२ जेठ २०७८, आईतबार

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु


काठमाडौं ।

बाँके, सुनसरी, उदयपुर, सुर्खेत, धनुषा, काभ्रे र बाराका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका-१३ स्थित सडकमा मे.१ ख ३३४७ नम्बरको बस र अनटेष्ट लेखिएको टिपर शुक्रबार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३ जना, टिपरका चालक र सहचालक सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा परी घाइते भएका अन्य १९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-४ धनपुरी नयाँपुलस्थित सडकमा ना.६ ख ७१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय राजन कार्कीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहमा प्रदेश २-०१-००१ त.००८१ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय शारदा चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ बनचौकीमा भे.१ त ६४२१ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय होमराज बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय काशी बिकले सडक छेउमा ट्याक्टर रोकी खाना खान गएको अवस्थामा होमराजले उक्त ट्याक्टर चलाउँदा दुर्घटना भएको खुल्न आएको छ ।
धनुषा, मिथिला नगरपालिका-६ ढल्केवर चोकमा ज.७ प ४४३४ नम्बरको मोटरसाइकललाई ना.५ ख ४९६५ नम्बरको बसले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी भंगाहा नगरपालिका-७ घर भएका २८ वर्षीय मनोज कुमार ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढ हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेबाट दाप्चा जाने भित्री सडकको खोलाको साईडमा ढुङगा लोड गर्ने क्रममा स्काईभेटरको ठक्करबाट सोही साईडमा काम गर्ने नमोबुद्ध नगरपालिका-७ बस्ने ३३ वर्षीय प्रकाश खनालको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । स्काईभेटर अपरेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरमा प्रदेश २-०३-००६ प २४९७ नम्बरको मोटरसाइकललाई ना.६ ख ६१३६ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्सा वीरगंज महानगरपालिका-२४ परवानीपुर बस्ने २४ वर्षीय जैकी प्रसाद कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्