Techie IT
२ जेठ २०७८, आईतबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका-३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५५३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ दोगराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४४ ट्याब्लेट र करिब २ सय ३० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गल्लामण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरबाट करिब ८ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित बैजनाथ गाउँपालिका-४ बस्ने २१ वर्षीया निशा वली सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा झै(झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुरको बेलका नगरपालिका-१ आम्बासीस्थित बेलका मेडिकल पोलिक्लिनिक प्रालिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाइड्रोकोलोराईड १ सय ९८ ट्याब्लेट, डाइसाईकोमाईन हाडड्रोकोलोराईड ५ सय १५ ट्याब्लेट, कपेटब ३ सय ५ ट्याब्लेट, ट्रामाडोल हाईड्रोकोलोराईड ओपिडोल ५० एमजीको १ हजार ५ सय २ ट्याब्लेट र नगद १ लाख १७ हजार रुपैयाँ सहित पोलिक्लिनिक संचालक सप्तरी चिरहुत गाउँपालिका-२ मैनाकडेरी बस्ने २६ वर्षीय सुबोध यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको कर्जन्हा नगरपालिका-३ खैराटोल बस्ने २१ वर्षीय नविन कुमार यादव र २५ वर्षीय संजिप मुखिायालाई नियन्त्रित लागूऔषध नाइट्राभेट १९ ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्