Techie IT
२ जेठ २०७८, आईतबार

“तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह २०७८” शुभारम्भ


काठमाडौं ।
नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले मिति २०७८ वैशाख २ गतेदेखि ऐ. ९ गतेसम्म संचालन हुने “तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह( २०७८” कार्यक्रमको बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहकाबीच जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बलाधिकृत शर्माले सकलदर्जालाई सम्बोधन गर्दै गौरवशाली इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापनाकाल देखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राख्दै नेपाली जनताको विश्वासको केन्द्रविन्दु बन्‍न सफल भएको र यसको मूख्य श्रेय अनवरत निश्वार्थ सेवा गर्ने नेपाली सेनाका भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जाने बताएका थिए ।

साथै, संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच वहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर, उर्जाशिल बनाउन अपरिहार्य रहेको बताउंदै बलाधिकृत शर्माले सकलदर्जाले आफ्नो आचरण मर्यादित र नैतिकवान बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरु सबैले स्वस्फूर्त स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रहि कार्यसम्पादन गर्न अपरिहार्य रहेको बताएका थिए ।

नेपाली सेनाका सकलदर्जाको उपस्थितिमा संचालन भएको उक्त कार्यक्रममा मानवीय आचरण तथा मूल्य मान्यता सम्बन्धमा महन्त श्री १०८ स्वामी पुरुषोत्तम महाराजज्यूबाट अभिप्रेरणात्मक प्रवचन भएको थियो भने सैनिक आचार संहिता सम्बन्धी डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्