उद्योग सञ्चालन गर्न दिन माग

विराटनगर, भदौ ९
मोरङ व्यापार संघ र उद्योग संगठनले निषेधाज्ञामा पनि उद्योग सञ्चालन गर्न दिन माग गरेका छन् । दुवै संस्थाले एक विज्ञप्ति जारी गरी उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्ने दिन माग गरेका हुन् । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्नेगरी उद्योग सञ्चालन गर्न दिन दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हात धुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गरिएको छ । महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पु-याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्