Techie IT
मंगलबार, कात्तिक ४,२०७७

नेपालमा विश्वको तुलनामा कोरोना निको हुने दर १० प्रतिशत कम


काठमाडौं, भदौ ९
नेपाल कोरोना संक्रमणको दृष्टिले विश्वमै जोखिमपूर्ण देशको सूचीमा पर्ने देखिएको छ । कोरोना भाइरसको निको हुने प्रतिशतले हेर्दा नेपाल जोखिमपूर्ण देशको सूचीमा पर्ने देखिएको हो । विश्वका तुलनामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८ दशमलव ३ प्रतिशत रहेको छ भने विश्वमा ६८ दशमलव १ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९ दशमलव ८ प्रतिशतले कम रहेको छ । तथ्यांकभन्दा बढी नै निको भएको सरकारी अधिकारी बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा सङ्क्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको जिकिर गरेका छन् । उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको दाबी गरेको राससले उल्लेख गरेको छ ।

विश्वमा अहिले दुई करोड ३४ लाख ९ सय जना सङ्क्रमित भएका छन् भने एक करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन् । जुन निको हुनेको संख्या ६८ दशमलव १ प्रतिशत हो । विश्वमा अहिलेसम्म आठ लाख ९ हजार ९ सय ८६ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भइसकेको छ । जुन मृत्युदर ३ दशमलव ५ प्रतिशत हो ।

नेपालमा ६ लाख ४ सय ४४ जनामा पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा सङ्क्रमण देखिएको छ । सोमध्ये १८ हजार ६ सय ३१ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेका छन् । जुन ५८ दशमलव ३ प्रतिशत हो । नेपालमा अहिलेसम्म १ सय ५७ जनाको सङ्क्रमणबाट ज्यान गइसकेको छ ।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी (लकडाउन) साउन ७ गतेदेखि खुला गरेको थियो । पुनः सङ्क्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा यही भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । चैत ११ गतेदेखि स्कुल, कलेज, सार्वजनिक यातायात, सभा, गोष्ठी, जात्राजस्ता बढी भिडभाड हुने कार्य गर्न रोक लगाइएको छ ।

आइतबार २ सय ८१ जना सङ्क्रमण जितेर घर गएका छन् । एक महिना पहिला सङ्क्रमणमुक्त भएर जाने ७० दशमलव १ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा निको हुने दर पनि ११ दशमलव २ प्रतिशतले कमी आएको छ । यही भदौ ६ गते १ सय ३६ जना निको भएर घर जाँदा निको प्रतिशत ५८ दशमलव ९ प्रतिशत, भदौ ५ गते २ सय ५० जना निको भएर घर जाँदा निको प्रतिशत ५९ दशमलव ८ प्रतिशत रहेको थियो ।

यस्तै यही भदौ ३ गते १ सय २० जना निको भएर घर जाँदा ६१ दशमलव २ प्रतिशत, भदौ २ गते ८५ जना निको भएर घर जाँदा ६२ दशमलव २ प्रतिशत र भदौ १ गते १ सय ६० जना निको भएर घर जाँदा ६४ दशमलव २ प्रतिशत रहेको थियो । यसरी प्रतिदिन निको हुने दर पनि कमी आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्