Techie IT
सोमबार, वैशाख ६,२०७८

कालाखेती फेरि मार्केटिङ निर्देशकमा


काठमाडौं ।
सामान्य परिवारका जनकराज कालाखेतीले नेपाल वायुसेवा निगममा अनियमित ढंगमा प्रवेश गरेपछि पोखरामा लक्ष्मी ग्यास उद्योग स्थापना गरे । सेयर ब्रोकर नं. ५२ मा २५ प्रतिशतको मालिक बने । शंकरदेव क्याम्पसअगाडिको चार्टर्ड एकेडेमिक इन्टरनेशनलमा लगानी मात्र हैन सिर्फ अरुको बदनामी गर्ने, गराउने उद्देश्यले तीन/चारवटा अनलाइन खबरहरूमा लगानी गरे ।

निजको अकूत सम्पत्तिको छानबिन गर्ने निकाय यो देशमा छ कि छैन ? मार्केटिङ डिपार्टमेन्ट अर्थात् कमर्सियल डिपार्टमेन्ट छोड्नै नसक्ने सीए अर्थरोगी कालाखेतीले प्रशासनिक पद हत्याएर लुटपाट गरिआएकोमा निगमका सम्पूर्ण प्रशासनिक कर्मचारीहरू रुष्ट छन् । यिनको खाने पिउने बानीबाट आम कर्मचारीहरू मात्र हैन सामान्य एजेन्टहरू पनि पीडित छन् ।

हङकङको एक जना लोकल नेपाली स्टाफलाई तलब बढाइदिन्छु भनेर एडभान्स पाँच लाख घुस लिएकोमा पीडित ती जनजातिकी महिला कर्मचारीले आफ्नो परिवार नै लिएर कालाखेती कार्यकक्षमा धावा बोल्दा रातोपिरो भएर माफी मागेको घटना आलै छ । ससुराको साथी भए पनि रविन्द्र अधिकारीलाई उनकै अगाडि पोखरातिरको एक ट्राभल व्यवसायीले फ्रि ह्याण्ड कल गरेकोमा कालाखेतीले पैसाको बार्गेनिङ गरेको भ्वाइस नै सुनाएपछि रविन्द्रले तत्काल मार्केटिङ, कमर्सियल डिपार्टमेन्टबाट हटाई एयरपोर्टतिर सारेका थिए । तर कार्यकक्षमा निगमको काममा होइन अन्य निर्देशकहरूको बदख्वाइँ गर्ने समाचार टिपाउनमा र उठ्तीपुठ्तीकै हिसाबमा व्यस्त रहने कलाखेतीले निरन्तर पेपरबाजी गरेर प्रशासन सेवाकै टंक दाहाललाई हटाई आफू फेरि कमर्सियल डिपार्टमेन्टको निर्देशक बने ।

जनकराज कालाखेती अर्थविज्ञका रुपमा पनि गलत तरिकाले नियुक्त भएर नेवानिमा जागिर मात्र खाएनन्, आर्थिकरुपमा छलाङ नै मारे । बूढानीलकण्ठको भव्य महलले पनि त्यही बताउँछ । निजको नियुक्ति गर्दा निजलाई मात्र मिल्ने गरी बाबुआमाको नाम र ठेगाना बाँकी राखेर सेटिङमा विज्ञापन गरियो र एकैपटक नवौँ तहमा नियुक्त गरियो तर दरबन्दी नै नभएको ठाउँमा । निजको नियुक्ति गर्दा त्यसबेला लेखा समूहमा नवौँ तहमा खाली दरबन्दी थिएन र तत्कालीन कामु निर्देशक केशवराज शर्माको अवकाश भएपछि अर्थात् छ महिनापछि खाली हुने ठाउँमा नियुक्त गरेर छ महिनापछि दरबन्दी मिलान गरियो । हो नै अजब नेपालको गजब नेपाल ।

वास्तवमा कालाखेतीलाई नियुक्त गर्दा नवौं तहको चार्टर्ड एकाउन्टेन्टले अर्थ विभागमा फाइनान्सियल शेड्युल र ब्यालेन्सशिटहरू बनाउने विशेषज्ञको रुपमा राख्ने भनी सञ्चालक समितिबाट स्वीकृत गराइराखिएकोमा उनी त्यो सबै छोडेर आर्थिक दबाब र प्रभाव पारेर मार्केटिङ डिपार्टमेन्ट र कष्टमर सर्भिस डिपार्टमेन्टको निर्देशक बनेर प्रशासनिक करियरका स्टाफहरूलाई लोप्पा खुवाएर पैसा बटुल्दै बसेका छन् ।

कालाखेतीले नियमविपरीत मलेसिया सेक्टरमा १० हजार शिट एकलौटीरुपमा हारभेष्ट मुन ट्राभल एजेन्सीलाई दिएर कसरी करोडौँ रकम कुम्ल्याए भन्ने कुुरा छुट्टै खोजीको विषय बनेको छ । कालाखेतीले जीडीएस ग्यालेलियोसित मिलेर ग्रुप बुकिङमा के कसरी यूएस डलर १.२५ को रेटलाई यूएस डलर चार पु-याएर निगमलाई मार्ने काम गरे भन्ने विषय पनि अर्को छानबिनको मुद्दा बनेको छ । यस्तै गतिविधिहरूबाट सजिलो आम्दानी गरेर केही रकम खर्च गर्दे चाहेको ठाउँमा सरुवा भएर तर मार्न पल्किएका कालाखेती अहिले नयाँ मन्त्री आएपछि पनि आफ्नो स्वार्थ पूरा गर्न सफल भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्