Techie IT
सोमबार, वैशाख ६,२०७८

कोरोना भाइरस नेपाल: जेठ असारमा कोभिड उच्चबिन्दुमा पुग्ने चेतावनी, सरकारको तयारी कस्तो छ ?


काठमाडौँ ।
सरकारले आगामी जेठ वा असार महिनामा कोरोनाभाइरसको सङ्क्रमण उच्चबिन्दुमा पुग्न सक्ने बताएपछि विज्ञहरूले मुख्यगरी जनस्वास्थ्यका मापदण्ड पालना गराउन अन्तर्राष्ट्रिय नाकाहरूमा अझै कडाइ गरिनुपर्ने बताएका छन्।

सरुवा रोगको क्षेत्रमा लामो समय काम गरेका एक पूर्वअधिकारीले सरकारको गृहकार्य फितलो रहेको भन्दै अघिल्लो वर्षको अनुभवबाट पाठ सिकेको जस्तो नदेखिएको प्रतिक्रिया दिएका छन्।

नेपाल र भारतबीचका सीमामा नै कोभिड-१९ सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने बाध्यकारी प्रबन्ध गरिनुपर्ने र मास्कको प्रयोगजस्ता सावधानी नअपनाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

प्रतिनिधिसभामा सोमवार बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ नियन्त्रणका लागि आवागमनलाई व्यवस्थित गर्ने, सङ्क्रमणको पहिचान गर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्दा महामारी नियन्त्रण गर्न सकिने भन्दै तत्काल लकडाउनको विकल्पबारे नसोचिएको बताएका थिए।

भारतको वृद्धिदरलाई ध्यान दिँदै थप सतर्कता

भारतमा सोमवार एक लाखभन्दा बढी र मङ्गलवार झन्डै ९७,००० जनामा कोभिड पुष्टि भएको छ। नेपालमा २४ घण्टाको अवधिमा ४,५०० वटाजति पीसीआर परीक्षण गर्दा २६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। दुई महिनायता नेपालमा पुष्टि भएको यो सर्वाधिक दैनिक सङ्ख्या हो।

संसद्‌मा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सङ्क्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्डमा कडाइमा सचेतता अपनाइएको बताए।

“अबका दिनमा जनस्वास्थ्यका मापदण्डहरूको पालनालाई प्रभावकारी बनाउन सकिएन भने सङ्क्रमण बढ्दै जेठ असारसम्ममा अर्को उच्चबिन्दुमा पुग्न सक्ने देखिन्छ। छिमेकी देश भारतमा फाल्गुन १७ गते सङ्क्रमितको सङ्ख्या ११,५६३ बाट एक्कासि बढेर चैत्र २२ गते ९२,९०० सय पुगेको स्थितिले हामीलाई थप सचेत र सतर्क बनाएको छ,” उनले भने।

कोरोनाभाइरस

“कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि आवागमलाई थप नियन्त्रित गर्दै रोगको शीघ्र पहिचान र आइसोलेशन, शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वारन्टीन र जनस्वास्थ्यको मापदण्डलाई पूर्ण पालना गर्न सके मात्रै महामारीलाई नियन्त्रण गर्नका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसतर्फ सबैको ध्यानाकर्षण जरुरी छ।”

नेपाल-भारत सीमामा कडाइ प्राथमिकतामा तर अपर्याप्त

भारतमा कोरोनाभाइरसको नयाँ लहर देखा परेपछि गएको चैत ९ गते गृह मन्त्रालयले दुई देशको सीमा हुँदै नेपाल आउने व्यक्तिहरूको अभिलेख राख्न र स्वास्थ्य परीक्षण गराएर मात्रै प्रवेश दिन देशभरिका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको थियो।

स्वास्थ्य मन्त्रायल मातहतका निकायहरूलाई नाकास्थित स्वास्थ्य जाँच चौकीलाई क्रियाशील पार्न र शङ्कास्पद व्यक्तिहरूलाई एन्टिजन वा पीसीआर परीक्षण गर्न भनेको थियो।

सम्भावित जोखिमलाई ध्यान दिँदै सङ्घ, प्रदेश र जिल्ला तहका अस्पताल र प्रयोगशालालाई तम्तयार राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका थिए।

कोभिड खोप

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी सरकारले अघिल्लो वर्षको महामारीबाट पाठ नसिकेको बताउँछन्।

उनले भने, “पोहोर लकडाउनको बेलामा केही फरक हो कि भन्ने देखियो। नत्र अहिले पनि जस्ताको तस्तै छ। पीसीआर ल्याबहरू छन्। कोभिड व्यवस्थापनको लागि आइसोलेशनको व्यवस्था गरिएको थियो, त्यो समाप्त भइसकेको छ। कतिठाउँ अलिअलि होला। डाक्टर नर्सहरूले यस्ता बिरामीहरू कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रयोगात्मक अनुभव पनि हासिल गरेका छन्।”

उनले सीमानाकाबाट प्रवेश गर्ने प्रत्येक व्यक्तिसँग कोभिड-१९ सङ्क्रमण नभएको प्रमाणपत्र सुनिश्चित गरेर मात्रै प्रवेश दिनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई दण्ड जरिवानाको व्यवस्था गरिनुपर्ने बताए।

कोभिडको ‘दोस्रो लहर पहिलो‍भन्दा बढी जोखिमपूर्ण’

काठमाण्डू विश्वविद्यालयकी सहप्राध्यापक तथा एपिडिमिओलोजिस्ट अर्चना श्रेष्ठ सङ्क्रमणको नयाँ लहर आउन सक्नेबारे यस पटक पहिलाभन्दा बढी मानसिक तयारी रहेको बताइन्।

उनी भन्छिन्, “हरेक व्यक्ति व्यक्तिबाट जनस्वास्थ्यका मापदण्ड लागु भयो र पाएसम्म खोप लगाइयो भने त्यसले सङ्क्रमण नियन्त्रण गर्न सहयोग गर्छ। पहिला हामीले पहिलो लहर आउँदाआउँदै सङ्क्रमणको तयारी गरेको थियौँ भने अहिले पूर्वाधार, तालिम, उपचार लगायतमा पूर्वतयारी छ।”

उनले नेपालमा अहिले सार्वजनिक भइरहेको तथ्याङ्कले सङ्क्रमणको पूर्ण चित्रण गरेको भन्दै परीक्षणको दायरा विस्तार गरिनुपर्ने र एन्टिजन परीक्षणमा सङ्क्रमण भएको देखिएका व्यक्तिहरूलाई पनि सङ्क्रमितको सूचीमा राखिनुपर्ने बताइन्।

डा. श्रेष्ठका भनाइमा नेपालमा जेठ महिनामा सङ्क्रमणको दोस्रो लहर देखा पर्न सक्छ।

पहिलो लहरभन्दा दोस्रो लहर अझ जोखिमपूर्ण हुने भन्दै सङ्क्रमणको अनुसन्धान र पहिचानमा थप पूर्वतयारी गरिनुपर्नेमा उनले जोड दिइन्।

पैसाको अभाव नरहेको स्वास्थ्यमन्त्रीको भनाइ

संसद्‌मा बोल्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पोहोर कोरोनाभाइरस देखा परेयता पाँच अर्ब १७ करोड रुपैयाँ खर्च भएको जानकारी दिँदै अहिलेसम्म भएका सम्पूर्ण खर्चका बारेमा श्वेतपत्र सार्वजनिक गर्ने बताए।

खोप कार्यक्रमसहितका लागि दुई अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए।

खोप किन्न ४८ अर्ब रुपैयाँ छुट्याइएको भन्दै उनले कोभिड नियन्त्रणका लागि रकमको अभाव नरहेको पनि उल्लेख गरेका थिए।

नेपालमा अहिलेसम्म दुई लाख ७८ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये तीन हजार जनाभन्दा बढीको मृत्यु भएको छ।

सरकारले भारतमा भइरहेको सङ्क्रमण वृद्धिको अवस्थालाई सतर्कतापूर्वक हेरिरहेको भए पनि लकडाउनको विकल्पबारे अहिले नै नसोचिएको दोहोर्‍याउँदै आएको छ।(बीबीसी)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्