Techie IT
शुक्रबार, वैशाख ३,२०७८

पुनःनिर्माणसम्बन्धी अनुभव साट्न राष्ट्रिय परिसंवाद शुरु


काठमाडौं,भदौ ८
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका क्रममा प्राप्त अनुभवन साट्न आयोजना गरेको राष्ट्रिय परिसंवाद आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको परिसंवादमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा निजी आवास, शैक्षिक संस्थालगायत पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै प्राधिकरण अनुभव र सिकाइको अभिलेखीकरणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

पुनःनिर्माण र पुनःस्थापनामा नेपालले प्राप्त गरेको सफलता, सिकाइ र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई समेत उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नब्बे प्रतिशतभन्दा बढी लाभग्राही पुनःनिर्माण प्रक्रियामा प्रवेश गरेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयोे । सात लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकामा छ लाख तीन हजार अर्थात् ७६ प्रतिशतले अनुदानको तेस्रो किस्ता लिइसकेका छन् । पाँच लाखभन्दा बढी लाभग्राहीले घर पुनःनिर्माण सम्पन्न गरेका छन् ।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यक्रमले पुनःनिर्माण र पुनःस्थापनाका क्रममा भएका कामका बारेमा व्यवस्थित छलफल गर्ने अवसर हुने विश्वास व्यक्त गर्नुभयो । परिसंवादको पहिलो दिन निजी आवास पुनःनिर्माणका विभिन्न आयाम समेटिएका १५ कार्यपत्र प्रस्तुत भएका छन् । पहिलो सत्रमा निजी आवासको स्ट्रक्चरल इञ्जिनियरिङ तथा प्रबलीकरणका विषयमा लिभा श्रेष्ठ, डा। निकोला जिओर्दानो, निमा स्थापित र सन्तोष यादवले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

दोस्रो सत्रमा ग्रामीण आवास पुनःनिर्माण सम्बन्धमा प्रेम उपाध्याय सुवेदी, देवराज गौतम, गौरवकुमार पन्थी, डा। क्रेस्टिन रेगर र रुपलाल ऐडीले कार्यपत्र प्रस्तुत गर्नुभयो । तेस्रो सत्रमा शहरी आवास पुनःनिर्माण सम्बन्धमा छलफल भयो । यो सत्रमा कार्यपत्र प्रस्तुत गर्नेमा डा। चन्द्रबहादुर श्रेष्ठ, सुवास घिमिरे, आस्था शिवाकोटी, डा। राजन सुवाल र मनिन्द्र मल्ल हुनुहुन्थ्यो ।

ती सत्रको क्रमशः डा हरिराम पराजुली, डा चन्द्रबहादुर श्रेष्ठ र किशोर थापाले सहजीकरण गर्नुभएको थियो । आगामी नोभेम्बरमा गर्ने भनी तय गरिएको नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको एक अंशका रुपमा यो परिसंवाद आयोजना गरिएको हो । कार्यक्रम यही भदौ ११ गतेसम्म चल्ने जनाइएको छ ।रासस


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्