Techie IT
सोमबार, वैशाख ६,२०७८

टोल–टोलमा सञ्चालन भइरहेको पठनपाठन स्थगन


खोटाङ, भदौ ८
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले टोल–टोलमा शिक्षक खटाएर सञ्चालन गरिरहेको पठनपाठन स्थगन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको भन्दै गाउँपालिकाले अनिश्चितकालका लागि पठनपाठन स्थगन गरेको हो । नेपाल सरकारले लकडाउन खुला गरेकै दिन साउन ७ गतेदेखि गाउँपालिकाले अध्यापन कार्य सुरु गरेको थियो । गाउँपालिकाले ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान’ नाम दिएर पठानपाठन सुरु गरेको थियो । साउन ७ गतेदेखि सुरु भएको पठन पाठन अघिल्लो हप्ताबाट स्थगन भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिए ।

गाउँपालिका समितिको बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पठनपाठन स्थगन गर्ने निर्णय गरेको शिक्षा शाखा संयोजक गिरीले बताए । कोरोना भाइरसको प्रकोप यथावत रहेकाले शैक्षिक क्षेत्रमा ठूलो असर पुगेकाले गाउँपालिकाभरिका ४८ वटा विद्यालयका ५ हजार ५ सय १२ जना विधार्थीलाई १ सय ५१ वटा केन्द्र बनाई सामाजिक दूरी कायम गरी पठनपाठन गराइरहेको थियो ।

गाउँपालिकाले हालसम्म ७२ जनाको पीसीआर परीक्षण गरेको छ । जसमा १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जनामा कोरोना संक्रमण देखिएकाले पनि थप सतर्कता अपनाउनुपर्ने भएकाले पठनपाठन स्थगन गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । पहिलो प्राथमिकता मानिस जोगाउनु भएकाले यस्तो निर्णय गरिएको अध्यक्ष राईको भनाइ छ ।

करिब १ महिना पठनपाठन भएको भए पनि तत्काल स्थगन गरिएको अवस्थामा सुधार आएको खण्डमा पुनः पठनपाठन सुरु गरिने गाउँपालिकाले जनाएको छ । अहिले कोरोनाका कारण देशभरका सबै क्षेत्र बन्दजस्तै अवस्थामा रहेका छन् । कोरोनाको कारण शैक्षिक सत्र नै खेर जाने पो हो कि भन्ने शंका समेत गरिएको छ । तर सरकाले जारी शैक्षिक सत्र खेर जान नदिने बताउँदै आएको छ ।

सरकारले भदौ १५ देखि पठन पाठन गराउने जनाएको भए पनि पछिल्लो सयम कोरोनाको महामारी थप बढेकाले सरकारले तत्काल पठनपाठन नगर्न आग्रह गरिरहेको छ । पछिल्लो समय विज्ञहरूले अर्को महिनापछि कोरोनाको महामारी कम हुने बताएकाले दशैँअघि पढाइ हुने अवस्था अत्यन्तै कम रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्