Techie IT
१७ माघ २०७९, मंगलबार

हनुमन्ते खोला जग्गा एकीकरण आयोजनामा दुई कार्यालयबीच भिडन्त : वक्तव्यको लडाइँ


काठमाडौं ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित हनुमन्ते खोला जग्गा एकीकरण आयोजनामा सरकारी निकायबीच नै लफडा र आरोप प्रत्यारोप भएको छ । नगरपालिका भक्तपुरस्थित आयोजना प्रमुखलाई नै थाहा नदिई काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको पाइएको छ ।

मंगलबार एक दैनिक पत्रिकामा प्राधिकरणले भौतिक योजनाको मस्यौदा तयार भएको र उक्त मस्यौदामा केही उजुरी भए प्राधिकरणको भक्तपुर आयुक्त कार्यालयलाई सूचना दिन भनिएको छ । तर, उक्त सूचनाको खण्डन गर्दै बुधबार प्रकाशित गोरखापत्रमा मध्यपुर ठिमी नगरपालिका र आयाजना प्रमुखले खण्डन गरेका छन् ।

‘सो आयोजना मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट संयुक्तरूपमा सञ्चालन गर्ने गरि उपभोक्ता समिति गठनका प्रक्रियामा रहेको र आयोजना प्रमुख समेत तोकी कार्य समेत भइरहेको अवस्थामा कार्यरत आयोजना प्रमुखलाई थाहा नै नदिई सूचना प्रकाशन हुनु आपत्तिजनक विषय हो,’ गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनामा भनिएको छ, ‘हनुमन्ते जग्गा एकीकरण आयोजनाका सम्बन्धमा, डीपीआर तयार भई आयोजनामा पर्ने धनीहरूको जग्गा फिर्ताको सुनिश्चितता नभएसम्म र नगरपालिकाले सीमांकन नगरुञ्जेलसम्म कुनै पनि कार्य अगाडि बढ्न नदिने र सोसम्बन्धी जानकारी सम्बन्धित निकायलाई समेत जानकारी गराउने भनी यस नगरपालिकाका, नगरकार्यपालिकाको २०७७।१०।१८ गतेको ५०औं बैठकबाट निर्णय भई सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको अवस्तामा आयोजनाको भौतिक मस्यौदा तयार भएको भन्ने सूचना प्रकाशन गरी भ्रम सिर्जना गरिएको हुँदा कोही पनि भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्