Techie IT
१७ माघ २०७९, मंगलबार

लाखौं खर्चेर बनाएको शौचालय प्रयोगमा नआउँदै भत्किन थाल्यो


दोलखा
लाखौँ रूपैयाँ खर्च गरेर निर्माण गरिएको दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको एक विद्यालयको शौचालय प्रयोगमा नआउँदै भत्किन थालेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखाले कालीदेवी आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि १४ लाख ७० हजार रूपैयाँ अनुदान दिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य विशाल बस्नेतले विद्यालयले आएको बजेट बचाउन खोज्दा शौचालय कम गुणस्तरीय बनेको बताए । विद्यालयले धारासहितको शौचालय बनाउन करिब तीन लाख रूपैयाँमा ठेक्का दिएको थियो ।

निर्माण सकिन बाँकी रहँदै शौचालयमा फिनिसिङ गरिएको टायल तथा मार्बल फुट्न र उप्किन थालेको छ । विद्यालयलाई गत आवमा प्रविधिमैत्री शौचालय निर्माण गर्न १४ लाख ७० हजार रूपैयाँ बजेट निकासा भएको थियो । विद्यालयले दुई लाख ९० हजारमा शौचालय निर्माणको जिम्मा बैतेश्वरका एक व्यक्तिलाई दिएको थियो । शौचालयमा प्यान टायलभन्दा धेरै तल फिट गरिएको छ । विद्यालयका प्रधानाध्यापक राम्जी घिमिरेले भने निर्माणको काम अझै बाँकी रहेकाले शौचालयमा देखिएको कमजोरीलाई सुधार गर्ने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्