Techie IT
बिहीबार, असोज ८,२०७७

मनमोहन शिक्षण अस्पतालमा ३ सय ३३ शय्याको आइसोलेसन तयार


काठमाडौं, भदौ ८
कोरोना भाइरस संक्रमित बिरामीहरूको उपचारका लागि मनमोहन मेमोरियल शिक्षण अस्पतालले आईसोलेसन तथा उपचार कक्ष सञ्चालनमा ल्याएको जनाएको छ । अस्पतालले काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा रहेको बेसिक साइन्स भवनमा ३ सय ३३ शय्याको आईसोलेसन कक्ष तयार गरी सञ्चालनमा ल्याएको हो ।

अस्पताल सञ्चालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र पाण्डेले आइतबार एक विज्ञप्ति जारी गर्दै महामारी नियन्त्रणका लागि उक्त अस्पतालले सञ्चालनमा ल्याएको आइसोलेसन कक्ष प्रयोग गर्न सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए । उनले उक्त कक्ष गत जेठ २५ गते नै स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विदेशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउनका लागि सहजीकरण गर्न, मन्त्रिपरिषद्को गत जेठ १२ गतेको बैठकले क्वारेन्टाइन सञ्चालन गर्नाका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई अनुरोध गरेको र सरकारको अनुरोधलाई स्वीकार गरी उपलब्ध गराएको पाण्डेले बताए ।

अस्पतालको काठमाडौँस्थित चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकमा ७५ हजार वर्गफिट क्षेत्रफलमा ५ तल्ले बेसिक साइन्स भवन रहेको छ । ६० कोठा भएको उक्त भवनमा ७ वटा ल्याब समेतको रहेको अस्पतालले जनाएको छ । त्यस्तै गत भदौ २ गतेवाट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको स्वयम्भूबाट समेत उपचार सुरु गरेको छ ।

हाल स्वयम्भू अस्पतालमा ६८ जना कोरोना संक्रमित तथा अन्य बिरामी रहेका छन् । बिरामीको उपचारका लागि अस्पतालका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी तथा त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणको व्यवस्थापन समेत अस्पतालले गरिसकेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्