Techie IT
बिहीबार, कात्तिक ६,२०७७

सामाजिक काममा सक्रिय युवा


दोलखा, भदौ ८
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका युवाहरूले सामाजिक काममा सक्रियता देखाएका छन् । स्थानीय युवाहरू यतिबेला भूकम्पले ध्वस्त बनाएको मन्दिरको पुनर्निर्माण जुटेका छन् । भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माणको लागि कसैले पनि चासो नदेखाएपछि यहाँका युवाहरू आफैँ मन्दिर निर्माणमा जुटेका हुन् ।

कोरोना भाइरस रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको समय फुर्सदिला बनेका युवा आफ्नो ठाउँ आफैँ बनाऊँ भन्दै स्थानीय स्रोत साधनको प्रयोग गरेर वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गे चिलाउनेखर्क कालीढुङ्गामा रहेको सिवालय मन्दिर निर्माण गर्न लागिपरेको स्थानीय राजकुमार खड्काले जानकारी दिए । भुकम्प जानुअघि महत्वपूर्ण चाडपर्वमा सधैँ चहलपहल देखिने मन्दिर हिजोआज सुनसान बन्दा आफूहरूलाई नरमाइलो लागेकाले गाउँका युवाहरू मिलेर मन्दिर निर्माण गर्न थालेको उनको भनाइ छ ।

विगत चार दिनदेखि युवाहरू मन्दिर निर्माण खटिरहेका छन् । २०७२ सालको भूकम्पले मन्दिर ढलेपछि सम्बन्धित निकायले चासो नदेखाउँदा यस मन्दिरको पुनर्निर्माण हुन सकेको थिएन । कुनै निकायबाट पनि मन्दिर निर्माण गर्ने छाँट नपाएपछि आफैँ अघि सरेको स्थानीय सुजन दाहालले जानकारी दिए । स्थानीय गाउँमै पाइने स्रोतसाधन ढुङ्गा माटो, काठको प्रयोग गरेर मन्दिर निर्माण गरिरहेको दाहालले बताए । भूकम्पले ध्वस्त मन्दिर निर्माण केही दिनमा सकिने भए पनि थप फिनिसिङ गर्न भने आर्थिक समस्या भएको उनीहरूको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्