Techie IT
१८ माघ २०७९, बुधबार

कोरोनाको दोस्रो लहरको संकेत :  आइसोलेसन र क्वारेन्टाइन तयार राख्‍न गृह मन्त्रालयको निर्देशन


काठमाडौँ ।
कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । पछिल्लो १० दिनयता संक्रमणको दर निरन्तर बढिरहेको छ ।

मंगलबार ४ हजार ३२ जनाको परीक्षण गर्दा १ सय ८८ जनामा र सोमबार ४ हजार ४ सय ७२ जनाको परीक्षण गर्दा १ सय ५५ जनामा संक्रमण देखिएको छ । जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो ।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । होलीमा बढी भीडभाड नगर्न भनिएको छ ।

मास्क र सेनिटाइजर अनिवार्य रूपमा प्रयोग गराउन पनि गृहले प्रशासन र सुरक्षा निकायलाई निर्देश गरेको छ । सरकारको निर्देशन अटेर गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को जनस्वास्थ्यसम्बन्धी व्यवस्थाअनुसार कारबाही गर्ने भनिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारीलको जोखिम ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न र संक्रमण देखिएका तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन परिपत्र गरिएको बताएका छन्।

कोरोनाको दोस्रो लहर के हो भनेर निश्चित वैज्ञानिक परिभाषा त छैन । तर संक्रमणको दर उत्कर्षमा पुगेर नगण्य संख्यामा झर्नु, नियन्त्रण हुनु र फेरि केहि समयको अन्तरालमा अत्यधिक संख्यामा देखिनुलाई यस्तो रूपमा बुझ्ने गरिएको छ । सन् १९१८ तिर देखिएको ‘स्पेनिस फ्लु’को नामले चिनिने भाइरसको दोस्रो लहरमा बढी मानिसको मृत्यु भएको तथ्य पाइन्छ । कोरोना र फ्लु दुई फरक भाइरस भए पनि कतै कोरोनाको लहर दोहोरिइरहने हो कि भन्ने भय विश्वमै देखिन्छ ।

थप मानवीय क्षति नहोस् भनेर खोपलाई मुख्य विकल्पका रूपमा लिइएको र कतिपय देशले द्रुत गतिमा यसको विकास गरिरहेका पनि छन् । कतिपय देशले त आपत्कालीन प्रयोगका लागि हाल उपलब्ध खोपहरू (कम्तीमा ट्रायलको तेस्रो चरण पार गरिसकेका) लाई स्वीकृति पनि दिइसकेका छन् । दोस्रो लहरबारे अनुमान गर्नुअघि युरोप तथा अमेरिकामा किन, कसरी र कस्तो अवस्थामा कोरोनाको लहर दोहोरियो भनेर बुझ्न जरुरी हुन्छ ।

युरोपमा दोस्रो लहर विशेषतः स्पेनबाट फैलिएको अनुमानसहितको अनुसन्धानमूलक लेख प्रकाशित भएको छ । युरोपमा कोरोना संक्रमणको पहिलो लहर कम हुनेबित्तिकै स्पेनले आफ्नो देश पर्यटकका लागि खुला गरेको थियो भने मानिसको आवतजावत पनि सहज बनाएको थियो । न्युयोर्क टाइम्सका अनुसार जुलाई तथा अगस्ट महिनामा मात्र स्पेन प्रवेश गर्नेको संख्या लगभग चार मिलियन (४० लाख) जति थियो ।

उनीहरूलाई कोरोना परीक्षण तथा क्वारेन्टिन अनिवार्य गरिएको थिएन । बेल्जियमले पनि कोरोना परीक्षण तथा क्वारेन्टिनको व्यवस्था गरेको थिएन । स्पेन भ्रमण गरेका पर्यटकले आफ्नो देशमा समेत संक्रमण फैलाएका कारण कोरोनाको दोस्रो लहर युरोपमा फैलिएको भन्दै त्यहाँका अनुसन्धाताले जिनको विश्लेषण गरेका थिए । त्यस क्रममा जिनको बनावट नयाँ देखिएको थियो ।

यसलाई २०एईयू१ नाम दिइएको छ । यो नयाँ प्रकृतिको कोरोना भाइरस युरोपेली देशहरूमा दोस्रो लहर फैलाउने कारक मानिएको छ । बेलायत र स्विट्जरल्यान्डमा देखिएको दोस्रो लहरमा यो प्रकृतिको भाइरसको हिस्सा ८० र ५० प्रतिशतसम्म पाइएको थियो । संक्रमितको संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी भएको तथ्यांक छ ।

केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको जोखिम बढ्न सक्ने चेतावनी दिँदै भीडभाड, जुलुस, सभा–सम्मेलनलगायत गतिविधि नगर्न अपिल गरेको थियो । पछिल्लो पटक भारतमा संक्रमण दर बढ्न थालेकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने सक्ने आकलन गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्