Techie IT
बुधबार, मंसीर १०,२०७७

विदेशमा यो साता थप एक जना नेपालीको मृत्यु


काठमाडौं, भदौ ८
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप १ जनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरूको निधन भएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापीरूपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरे ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरूको ज्यान हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार तीन सय एक जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३ दशमलव ५ प्रतिशत अर्थात् ३२ हजार दुई सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह : गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्षकुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो पटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएकाले वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो । संघले सरकारले ससर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यावहारिक र व्यवस्थित गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्