Techie IT
बिहीबार, कात्तिक १३,२०७७

सोलुखुम्बु सदरमुकाम सल्लेरी सीसीटीभीको निगरानीमा


सोलुखुम्बु, भदौ ८
सोलुखुम्बु प्रहरीले जिल्लाको सदरमुकाम सल्लेरीमा रहेका बजार क्षेत्रको गतिविधिलाई सीसीटीभीबाट निगरानी गर्न सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ५ र ६ का केही स्थानमा सीसीटीभी जडान गरी निगरानी बढाइएको हो । सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा सदरमुकाम सल्लेरी बजारमा सीसीटीभी जडान गरिएको छ ।

पछिल्लो समयमा प्रविधिको प्रयोगसँगै अपराध नियन्त्रणमा सहज भइरहेको अवस्थामा सोलुखुम्बुमा पनि यसको प्रयोग थालिएको प्रहरीले जनाएको छ । यसले अपराधीलाई नियन्त्रणमा लिनका लागि सहज हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए ।

पहिलो चरणमा सल्लेरी क्षेत्रका विभिन्न ६ वटा स्थानमा सीसीटीभी जडन गरी निगरानी थालिएको प्रहरी निरीक्षक चौहानले बताए । उनका अनुसार सल्लेरी आसपासमा १० वटा सीसीटीभी राखिने र त्यसमार्फत बजार क्षेत्रको निगरानी गरिनेछ । अहिले सल्लेरीमा वडा नम्बर ४ फाप्लु जाने बाटो, वडा नम्बर ५ का हुलाक चोक, तीनकुने, जिल्ला प्रशासन कार्यालयअगाडि र निर्वाचन कार्यालय क्षेत्रमा सीसीटीभी जडान भइसकेको छ ।

त्यस्तै साप्ताहिक हाट लाग्ने वडा नम्बर ६ को नयाँ बजारमा पनि जडान गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । सीसीटीभी जडान भएसँगै बजार क्षेत्रका निगरानी यसैबाट भइरहेको प्रहरीको भनाइ छ ।

स्थलगतरूपमा पनि प्रहरी परिचालन गरिएको र कुनै पनि गलत क्रियाकलापलाई तत्काल नियन्त्रणमा लिन सकिने प्रहरीले जनाएको छ । अहिले बजार क्षेत्रमा मास्क नलगाउनेहरूलाई समेत सीसीटीभीबाट निगरानी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले चेतनामूलक कार्यक्रम गरी कोरोनाको महामारीबाट जोगिनका लागि बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । त्यसको उल्लंघन गरेमा प्रहरीले एक सय रूपैँया जरिवाना गर्ने जनाइसकेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्