Techie IT
सोमबार, वैशाख ६,२०७८

कोरोना भाइरस नेपाल: प्रधानमन्त्री भन्छन् ‘सङ्क्रमणका विषयमा गैरजिम्मेवारीपन देखियो’

विज्ञहरूले थप यस्ता सुझाव दिए:


काठमाडौं,साउन २०

स्वास्थ्य क्षेत्रका विज्ञहरूले मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन: ‘लकडाउन’ लगाउने बिषयमा मिश्रित प्रकृतिका सुझाव दिएको उनीसँगको बैठकमा सहभागी विज्ञहरूले बताएका छन्।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले भने: “एकैपटक लकडाउन खुल्यो भन्दा जनतामा गलत अर्थ दिने सन्देश गएको छ। आंशिक लकडाउन लामो समय राखिराख्नुपर्छ।”

डा. कार्कीका अनुसार बैठकमा उपस्थित झण्डै डेढ दर्जन विज्ञहरूले थप दुई साता देशव्यापी लकडाउन लगाउनुपर्ने, स्थानविशेषको प्रभाव हेर्दै ती ठाउँमा मात्र लकडाउन लगाउन सकिनेदेखि केहीसमय कर्फ्यु नै लगाउनुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्रीले लकडाउन खुलाइएपछि ‘सङ्क्रमण अस्वभाविक रूपले बढ्न खोजेको हो कि होइन’ भनेर जिज्ञासा राखेको अर्का एक विज्ञको भनाइ थियो।

“परीक्षण पनि बढेकोले देखिएको यो स्वभाविक अवस्था हो। तर त्यसो भन्दैमा ढुक्क भएर बस्ने वा हेलचेक्र्याईँ गर्ने अवस्था भने होइन,” अर्का सहभागी विज्ञ समीरमणि दीक्षितले भने।

“तर पहिलेजस्तो पूर्ण लकडाउनमा जान चाहीँ उपयुक्त नहुने हामीहरू धेरैको सुझाव थियो। बरु सुरक्षित रहने मापदण्डलाई कसरी कडा कार्यान्वयन गर्ने भन्नेमा सरकारी जोड हुनुपर्ने हामीले सुझायौँ।”

लकडाउन खुलेपछि कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न विज्ञहरूसँग परामर्श गरेका हुन्।

काठमाण्डू

विज्ञहरूले थप यस्ता सुझाव दिए:

– परीक्षण गरिएका शङ्कास्पद मानिसहरूलाई रिपोर्ट नआउँदासम्म यात्रा गर्न दिन नहुने

– आंशिक लकडाउन कायम राख्दै त्यसका सम्भावित चरणहरू स्पष्ट पार्नुपर्ने

– विदेशबाट आएकाहरूबाट सङ्क्रमण सर्ने घटना रोक्न देशभित्रकै विभिन्न नाका र देश छिर्ने नाकामा अनुगमन प्रभावकारी गर्नुपर्ने

– काठमाण्डूमा थप ‘हटस्पट’को पहिचान गर्न समुदाय स्तरमा परीक्षण बढाउने

– सवारी यातायातमा जोरविजोर प्रणाली उपयुक्त हुने

– रेष्टुराँहरूमा भइरहेका त्यहीँ बसेर खानेजस्ता नियम दुरूपयोगको अनुगमनका साथै र नियम नमान्नेलाई कारबाही हुनुपर्ने

– सङ्क्रमित स्वास्थ्यकर्मीको उद्धार, उपयुक्त उपचार र मनोबल बढाउने कामलाई उच्च प्राथमिकता दिनुपर्ने

उक्त परामर्श बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।

सोमवारसम्म नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या २१,००९ र भाइरससँग जोडिएका मृत्युको सङ्ख्या ५८ पुगेको सरकारी विवरण छ।

प्रधानमन्त्रीले के भने?

प्रधानमन्त्री ओलीले कोरोनाभाइरससँग जुझ्ने बिषयमा केही मानिस, माध्यम र संस्थाहरूमा गैरजिम्मेवारीपन देखिएको बताएका छन्।

प्रधानमन्त्री र स्वास्थ्यविज्ञहरूबीचको बैठकको सार्वजनिक भएको भिडिओमा उनले आफ्नो पार्टी भित्रको राजनीतिलाई पनि कोरोनाभाइरस विरूद्धको अवस्थासँग जोड्ने प्रयास गरेका देख्न सकिन्छ।

उनले भनेका छन्: “त्यो खोज्न अन्त गइरहनु पर्दैन मेरै पार्टीभित्र छ। २५ जनाभन्दा बढी हामीले जम्मा हुन दिएका छैनौँ। मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी बैठक तुरून्त चाहियो भनेर मेरै पार्टीभित्र कुरा उठेको छ। स्थायी कमिटि अहिले नै ,भोलि नै बस्नुपर्‍यो…देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही र बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि उठ्ने प्रवृत्तिहरू निकै व्यापक रूपमा देखिन्छ।”

पार्टीभित्रका उनका विपक्षीका साथै प्रधानमन्त्रीले सञ्चारमाध्यमहरूलाई पनि आफ्नो टिप्पणीको निशाना बनाएका छन्।

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरूले समेत ‘गर्दा किन गर्‍यो र नगर्दा किन गरेन’ भन्दै ‘मान्छे उचाल्ने र भड्काउने’ काम गरेको आरोप लगाए।(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्