Techie IT
सोमबार, कात्तिक १०,२०७७

कोरोना भाइरस परीक्षण: स्वाबबाट नमुना सङ्कलन गर्दा मस्तिष्कमा क्षति पुग्छ भन्ने दाबीको चिरफार


काठमाडौं,भदौ ७

कोरोनाभाइरसको परीक्षणले मानिसलाई हानि पुर्‍याउँछ भन्ने दाबीसहितका सन्देशहरू सामाजिक सञ्जालमा मानिसहरूले एकअर्कालाई पठाइरहेका छन्।

धेरै शेअर भएका र त्यस्ता पोस्टहरूमा दाबी गरिएका केही विषयमाथि हामीले अनुसन्धान गरेका छौँ।

नाकबाट स्वाब लिँदा मस्तिष्कलाई क्षति पुग्दैन

परीक्षणका लागि स्वाब लिँदै गरिएको एउटा तस्बिर फेसबुक र इन्स्टाग्राममा व्यापक रुपमा शेअर गरिएको छ। उक्त पोस्टमा स्वाब “ब्लड ब्रेन ब्यारीअर” बाट झिकिएको दाबी गरिएको छ।

नाकबाट स्वाब निकाल्दा ब्लड ब्रेन ब्यारीअरसम्म पुग्न सक्छ भन्ने कुरा पूर्णतया गलत बुझाइ हो।

हाम्रो मस्तिष्कमा यसलाई जोगाउनका लागि थुप्रै तहहरू हुन्छन्।

पहिलो खप्पर हो। त्यसभित सुरक्षित झिल्ली र तरल पदार्थले मस्तिष्क ढाकिएको हुन्छ।

रक्तनलीभित्र ब्लड ब्रेन ब्यारीअर कोषिकाहरूको कसिला तह हुन्छन्। तिनले मस्तिष्कमा प्रवेश गर्ने अणुलाई रोकिदिन्छन् र अक्सिजन तथा पोषक तत्त्वहरूलाई मात्रै मस्तिष्कमा पठाउँछन्।

नाकबाट पठाइने स्वाब स्टिक ब्लड ब्रेन ब्यारीअरसम्म पुग्नका लागि तन्तुका थुप्रै तहहरू पार गर्नुपर्छ र हड्डी खोप्नुपर्छ र रक्त धमनीभित्र पुग्नुपर्छ।

गलत बुझाइ

“तन्तु र हड्डीका थुप्रै तहहरू तोड्ने खालको एउटा राम्रो दबावबिना स्वाब ब्लड ब्रेन ब्यारीअरभित्र पुग्न सक्दैन। कोभिड स्वाबबाट कुनै जटिलता आएको हामीले हाम्रो न्यूरोलजीको अभ्यासमा देखेका छैनौँ,” ब्रिटिश न्यूरोसाइन्स असोसीएशनकी सदस्य डा. लिज कुल्टहार्डले भनिन्।

यूकेमा कोभिड-१९ को परीक्षणका लागि नाक र घाँटीको स्वाब लिइन्छ।

“अस्पतालमा काम गर्दा मैले थुप्रै बिरामीको स्वाब लिएको छु र परीक्षणका लागि पनि यी स्वाबहरूको काम आफैँले प्रत्येक साता स्वयंसेवीका रुपमा गरिरहेको छु। नाकभन्दा धेरै माथि त्यस्तो केही हुनु असाधारण हो – स्वाब निकाल्दा अलि असहज हुनसक्छ तर पीडादायी हुँदैन,” लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका डा. टम विङ्फील्डले भने।

स्वाब निकाल्दा त्यसले ब्लड ब्रेन ब्यारीअरमा असर गर्छ भन्ने दाबीहरू पहिलो पटक ६ जुलाईमा अमेरिकीका फेसबुक प्रयोगकर्ताहरूले लेखेका थिए।

ती केही पोस्टहरूमा परीक्षण नगर्न आह्वान पनि गरिएका थिए।

तीमध्ये केहीलाई फेसबुकको तथ्य जाँच निकायले “गलत” भनेको थियो।

हामीले त्यस्तै ग्राफिक्स रोमानिया, फान्स, डच र पोर्चुगल भाषामा गरिएका पोस्टहरूमा पनि पायौँ र ती पोस्टमा हजारौँ प्रतिक्रियाहरू आएका छन्।

परीक्षण किटले कोरोनाभाइरसको सङ्क्रमण गराउँदैन

किटहरू नै दूषित भएको भन्ने दाबीका कारण परीक्षण गर्दा कोरोनाभाइरस सर्न सक्छ भन्ने गलत व्याख्या गरिएको छ।

खासमा महामारीको सुरुको अवस्थामा अमेरिकास्थित सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रयोगशालाहरूमा गरिएका अप्रभावकारी परीक्षणहरूले निम्त्याएको सङ्क्रमणबारे समाचार प्रकाशित भएको थियो।

तर त्यसको मतलब परीक्षण गर्दा भाइरसको सङ्क्रमण हुन्छ भन्ने होइन।

परीक्षण किटहरू नै सङ्क्रमित भन्नेबारे वासिङ्टन पोष्टको लेखको लिङ्क राखेर फेसबुकमा 'के तपाईँ कोभिड १९ चहानुहुन्छ?' भन्ने पोष्ट गरेर गलत समाचारहरू फैलाउने काम गरिएको छ

गत महिना हजारौँ पटक फेसबुकमा शेअर गरिएको एउटा पोस्टमा फक्स न्यूजका प्रस्तोता टकर कार्ल्सनको फ्यान पेजमा दूषित परीक्षण किटबारे समाचार शेअर गर्दै लेखिएको छ: “के तपाईँ कोभिड-१९ चाहनुहुन्छ? यसरी तपाईँलाई सर्न सक्छ।”

जुन महिनामा वाशिङ्टन पोस्टमा प्रकाशित एउटा लेखमा सङ्घीय रूपमा गरिएको समीक्षाले परीक्षणहरू गलत तरिकाले गरिएको र प्रयोगशालाको कार्यविधिले परीक्षण कार्यक्रममा ढिलाइ भएको पाइएको विवरण उल्लेख थियो।

तर त्यसमा ती परीक्षण किटहरूले भाइरस अन्य बिरामीलाई सारेको भन्ने चाहिँ थिएन।

उक्त लेख पैसा तिरेर मात्रै हेर्न मिल्ने थियो जसको मतलब धेरै मानिसहरूले प्रसङ्ग नबुझी लेखको शीर्षकमात्रै हेरेर अन्यलाई शेअर गरे।

‘स्वाब लिँदा किन सास फेर्न सकिँदैन?’

एउटा मीम अर्थात् व्याङ्ग्यात्मिक चित्रमा सोधिएको छः “यदि कोभिड सासबाट सर्छ भने भने किन स्वाब लिँदा सास फेर्न सकिँदैन? किन नाकको भित्री भागमा धक्का लाग्छ?”

फेसबुक र इन्स्टाग्राममा यो पोस्टमा हजारौँ व्यक्तिले विभिन्न किसिमले प्रतिक्रिया व्यक्त गरेका छन्।

झुटा विवरण

सङ्क्रमित व्यक्तिले खोक्दा वा सास फेर्दा भाइरस भएका साना कणहरू हावामा जान्छन् र फैलिन्छन्। तर त्यसको अर्थ स्वाब लिँदा सास फेरिएका कारण प्रयोगशालामा परीक्षणका लागि पर्याप्त सामग्री सङ्कलन हुन्छ भन्ने होइन।

हामीले यसबारे पब्लिक हेल्थ इङ्ल्यान्डसँग कुरा गरेका छौँ।

उनीहरूले घाँटी वा नाकभित्रबाट निकालिएको स्वाबले परीक्षणको यकिन परिणाम दिने बताए।

बाङ्ग्लादेशमा भाइरसमुक्त नक्कली प्रमाणपत्र

बाङ्ग्लादेशमा मानिसमा कोरोनाभाइरस छैन भन्ने नक्कली प्रमाणपत्रसम्बन्धी प्रकरणबारे हामीले अनुसन्धान गरेका छौँ।

परीक्षण नै नगरिएका मानिसहरूमा भाइरसको सङ्क्रमण छैन भनेर प्रमाणपत्र दिएको भन्दै केही मानिसलाई पक्राउ गरिएको छ।

यस्ता कागजपत्रहरू खासगरी हजारौँको सङ्ख्यामा रहेका आप्रवासी कामदारले आगमनस्थलमा देखाउनुपर्छ।

आपराधिक गिरोहले पनि यसबारे सामाजिक सञ्जालमा विज्ञापन गरिरहेका छन्।

अनौठो लागे पनि बाङ्ग्लादेशमा कोरोनाभाइरसको सङ्क्रमण भएको भन्ने नक्कली कागजात बनाएर कामबाट बिदा लिन सरकारी कर्मचारीहरूलाई प्रस्ताव गरिएको खबरहरू पनि आएका छन्।

(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्