Techie IT
बिहीबार, असोज ८,२०७७

कुस्मामा व्यवसायिक कालिज फार्म सञ्चालन


काठमाडौं,भदौ ७

पहिले जङ्गलमा मात्र पाइने ‘कालिज’ प्रजातिको पक्षी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन्छ । यसको स्वादको पारखी बढ्न थालेपछि कुस्माका एक व्यावसायीले झण्डै दुई करोड लगानी गरेर ‘रिङ्ग नेक’ जातको कालिज फार्म सञ्चालनमा ल्याएका छन ।

व्यवसायी मनोज पौडेल र चन्द्रा पौडेल क्षेत्रीले कुस्मा नगरपालिका –८ ओडारेमा ‘एमसी वाइल्ड लाइफ, एग्रो एण्ड रिर्सच सेन्टर’ले व्यवसायिक रुपमा कालिज सहित कडकनाथ र स्थानिय जातका कुखुरा पालन गर्न शुरुआत गरेका हुन ।

जङ्गलमा पाइने चिर कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ । अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाइ बन्दै गएको छ ।

पौडेल दम्पतीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हवका रुपमा रहेका पोखरा र साविकको धौलागिरी अञ्चालका पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गका ग्राहकलाई लक्षित गरि मध्यपहाडी लोकमार्गको पोखरा – बागलुङ्ग खण्डमा फर्म सञ्चालनमा ल्याएका हुन् ।

कोरोनाको कहरका बीचमा पनि कालिज, स्थानीय कुखुरा कडकनाथ, लौकाट, टर्कीको माग अत्याधिक भएको सञ्चालक मनोजले बताए । “पछिल्ला दिनमा कालिज र कडकनाथ जस्ता पंक्षीको माग अत्याधिक छ ”, उनले भने ,“‘लकडाउनमा पनि माग अनुसार पु¥याउन कठिन भएको छ । ”

उनका अनुसार फार्ममा गत बर्ष १ सय ५० कालिजका चल्ला तथा स्थानीय कुखुरा, कडकनाथ, लौकाट, टर्की गरि एक हजार चल्लाबाट शुरुआत गरिएको थियो । राजमार्ग नजिक र धौलागिरी अञ्चलको प्रवेशबिन्दु भएका कारण पनि बजारको समस्या नभएपछि यस बर्ष फर्म विस्तार भएको छ ।

यस बर्ष ८ सय भन्दा बढी कालिज पालिएको छ भने ४ हजार भन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ । यी सबैले अण्डा दिएपछि यस बर्ष मात्रै पाँच हजार कालिज र १५ हजार भन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना उहाँको छ । आफैले ह्याचरी मेसिन समेत राखेर चल्ला उत्पादन गरि बिक्री पनि गर्दै आएका छन् । “यो वर्ष माग आउने हो भने सबै गरि ५० हजार सम्म चल्ला उत्पादन गर्न सक्छौ । ”

कुस्माबजारमा हार्डवोयर व्यवसाय गर्दै आएको ती दम्पतीले हार्डवोयरसंगै कृषिमा पनि हात हालेको हो । अहिले सम्म कुनै सरकारी अनुदान समेत र्फमले लिएको छैन । कृषिका फर्म सञ्चालन गर्ने भनेपछि पहिले सरकारी मुख ताक्ने प्रबृत्ति बढेको बेला आफ्नै पाखुराका भरमा व्यवसाय सञ्चालन गर्ने अठोट ती दम्पतीको छ । “सरकारले अनुदान देला भनेर ब्यबसाय शुरु गरिएको होइन”सञ्चालक चन्द्रा क्षेत्रीले भन्नुभयो, “सरकारले अनुदान दियो भने अझै ब्यबसायलाई बढाउन सहयोग पुग्छ ।”

फर्ममा उत्पादित कालिज, कुखुराहरु पोखरादेखि मुस्ताङ्गसम्म पुगेका छन् । फर्म अगाडी होटल र फ्रेस हाउस समेत सञ्चालन भएकाले जिउँदो किन्नेदेखि मासु लैजाने सुविधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटल समेत सञ्चालनमा छ । फर्ममा उत्पादित कालिज , कडकनाथ, लौकाट, स्थानीय कुखुरा र मोदीको असला माछा समेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्