Techie IT
मंगलबार, असोज ६,२०७७

कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय


काठमाडौं,भदौ ७

हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसान मख्ख छन् ।

वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाइएको बन्दा र काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् ।

अध्यक्ष गुरुङ भन्छन्, “मैले आफूलाई पुग्ने मात्र होइन, केही बेच्ने गरी तरकारी लगाएको थिएँ तर सडक अवरुद्ध भएकाले गर्दा बजार पु-याउन सकिएन, तरकारी भने राम्रो उत्पादन भएको छ ।” आफ्नो बारीमा पूर्ण रुपमा जैविक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकारीका नाममा आलु मात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको जानकारी दिए ।

समुद्र सतहबाट तीन हजार ४८० मिटरमा उचाइमा रहेको भ्राकामा फलफूलका रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेंसीशहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नुपर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै मनाङ गाउँका पर्यटन व्यवसायी विनोद गुरुङ पनि देशैभरि कोरोना महामारीका कारण आफ्नो व्यवसाय धरापमा परेपछि खेतीपातीमा लागेका छन् । अहिले उनको बारीमा फलेका तरकारी जिल्लाकै नमूना बनेका छन् । काउली, बन्दा, गाजर र प्याजमा उत्तिकै राम्रा फल लागेका छन् । झन्डै १० किलोका काउली र बन्दा रहरलाग्दा देखिन्छन् ।

हुन त यहाँका सबै मानिस होटल व्यवसायसँगै खेतीपातीमा पनि संलग्न छन् । आफूले खान आफ्नै उत्पादनबाट नै पु¥याउने गरेको व्यवसायी गुरुङले राससलाई बताए। माछा, मासु र चामल बाहिरबाट ल्याउने गरिए पनि तरकारी आफ्नै उत्पादनबाट पुग्ने गरेको उनको भनाइ छ । पहिले बेंसीशहर, डुम्रेबाट हप्तौंँ लगाई बोकाएर लगेको तरकारी खान बाध्य यहाँका बाासिन्दा अहिले आफ्नै बारीको ताजा र जैविक तरकारी खान पाउँदा खुशी छन् ।

पहिले आलु मात्र खेती गरेको र अहिले आलुसँगै काउली, बन्दा, गाजरलगायत तरकारी उत्पादन गर्दा होटल व्यवसायमा सहयोग पुगेको उनको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्षसमेत रहेका उनी जिल्लालाई कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिने बताउछन् । उनी भन्छन्, “बन्दाबन्दीले पर्यटकको आगमन नभए पनि फुर्सदको समयमा तरकारी खेती गर्न सक्षम भएका छौंँ, अब पर्यटकहरुलाई पनि स्थानीय तरकारी खुवाउन सकिनेछ ।”


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्