Techie IT
शुक्रबार, फागुन २१,२०७७

बझांगी जनताको मुहारमा कहिले छाउला हाँसो


बझाङ, भदौ ७
२० वर्षपछि जनताले जनप्रतिनिधि पाउँदा जनताका मुहारमा जति खुसी छाएको थियो त्यति नै चुनाव भएको तीन वर्ष बितिसक्दा भने निराशा छाएको छ । समग्र बझाङलाई पाँच वर्षमा समृद्ध बनाउने माननीयहरूको चुनावी पहिलो एजेन्डा पनि थियो । तर बाचा पूरा हुन त के, कामको सुरुवातसम्म भएन । यतिबेला गाउँ–गाउँमा सिंहदरबार होइन, गाउँ–गाउँमा ‘सिंह’ पुगेको आभाष जनताले गरेका छन् । जनता भन्छन्, ‘जनप्रतिनिधि आउँदा सुख पाइन्छ भन्ने लाग्थ्यो, यहाँ त नेताहरूले रगतपसिना चुसेको जस्तो आभाष भएको छ ।’

नेताले चुनावका बेला जनतालाई सुख, शान्ति, समृद्धि ल्याउँछौ भन्दै घर–घरमै पुगेर खाएको बाचा भुलिसकेका छन् । जनताले भने दुःखकष्ट भुल्न सकेको छैन । चार वर्ष नबित्दै भुसुक्क भुलेका बचनले जनताका लागि मात्र पीडा नभई स्वयम् नेताको भविष्यमा पनि दाग लागिसकेको छ । चुनावका बेला घरघरमा पुग्ने नेता सिंहदरबार छोड्न नसक्ने भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका नजरमा जनता अझै पर्नै सकेनन् । गाउँमा कतिपय बिरामी उपचार नपाई ज्यान गुमाउनु परेको छ भने कतिपय गाउँकै जडीबुटी सेवन गरी बाँच्नुलाई भाग्य मानिरहेका छन् ।

जिल्लाको एक मात्र खोड्पे बझाङ, जयपृथ्वी राजमार्गको वर्षा सिजनमा यो ठाँउमा सधैँ यातायात अवरुद्ध हुने गरेको छ । यस्तै जयपृथ्वी राजमार्ग बागथला, देउरा नारुगौडा, पथुडा पाल्तीछडा ह्यापी खोला झनाना, जालेबगर तमैल कचाली खोला, सुबेडालगायतका ठाउँमा वर्षेनी वर्षाको समयमा सडक अवरोध हुँदा स्थानीयस्तरदेखी सांसदको पनि ध्यान जान सकेको छैन । सिमखेतमा समेत तलबाट बाहुलीगाडले कटान सुरु गरेपछि राजमार्ग नै अवरुद्ध बनेको छ ।

वर्षेनी समस्या झेल्दै आएका बझाङवासीलाई नेताले कुनै गुन लाउन सकेको छैनन् । सबै स्थानीय तहमा सबैका समस्या छन् तर वास्तविक समस्या भएको ठाउँमा योजना वितरण हुँदैनन् । प्रदेश र संघबाट विनियोजन हुने योजनाबाट १५ प्रतिशत अग्रीम कमिसन माग्ने चलनले जिल्लाको विकास हुन नसकेको नागरिक समाजका अगुवा धर्मजङ सिंहले बताए ।

बझाङमा १२ ओटा स्थानीय तह रहेका छन् । जिल्लाभर अति दुर्गम सैपाल गाउँपालिकास्थित खोला र नदीहरूमा पुल तथा झोलुङ्गे पुल छैनन् । कहीँ कतै भए पनि त्यो पर्याप्त छैन र उपयुक्त अवस्थामा छैन । ज्यानको बाजी लगाएर खोला तर्छन् यहाँका जनता । गाउँमा कोही बिरामी परिहाले त्योभन्दा बढी दुःख र आपत् अरु केही हुँदैन । सुत्केरी महिला र बुढापाकालाई जिल्ला अस्पतालसम्म पु-याउन तीनदेखि चारदिन पैदल हिँड्नु पर्छ । कति बिरामीले समयमा अस्पताल नपुगेर बाटैमा ज्यान गुमाउनु परेको फुला बोहराले बताइन् । स्थानीय सरकारदेखि सांसदले विकासको लागि जिल्लामा सबैले पहल गरी विकासका लागि बहस गरेर अगाडि बढ्नुपर्ने जिल्लाका जानकार बताउँछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्