Techie IT
आईतबार, असोज ११,२०७७

कोरोना महामारीको फाइदा उठाउँदै काठ तस्कर


बीरगञ्ज, भदौ ७
कोरोना महामारीको फाइदा उठाउँदै काठ तस्करहरू सक्रिय भएका छन् । अहिले पर्साका राष्ट्रिय जङ्गलबाट व्यापक काठ तस्करी भइरहेको छ भने वनगस्ती टोलीले केही तस्करलाई पक्राउ पनि गरेको छ । वनगस्ती टोलीले पर्सागढी नगरपालिका–१ मनवा भटनी गाउँनजिकबाट चार थान सालको गोलियासहित साइकल नियन्त्रणमा लिएको छ ।

सबडिभिजन वन कार्यालय बडनिहारका जमदार मनोज सिंहको कमाण्डमा खटेको वनगस्ती टोलीले करिब २० क्युफिट चार थान सालको गोलिया र चारवटा साइकल बरामद गरेको थियो । वनगस्ती टोलीलाई देखेपछि काठ तस्करहरू फरार भएका थिए । बरामद गरिएको गोलिया सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको जमदार अमर सिंहले बताए । यसैगरी, पटेर्वासुगौली गाउँपालिका–२ गादी मन्दिरबाट सबडिभिजन वन कार्यालय रङ्गपुरका सुबेदार प्रदीप तिमल्सिनाको कमाण्डमा खटेको टोलीले बुधबार राति दुई थान सालको गोलियासहित दुईवटा साइकल बरामद गरेको छ ।

गस्ती टोलीलाई देखेपछि तस्करहरू फरार थिए । बरामद १५ क्युफिट काठ कारबाईको लागि सबडिभिजन वन कार्यालय रङ्गपुरमा राखिएको रेन्जर कपिलदेव यादवले बताए । यसैगरी, सबडिभिजन वन कार्यालय वसन्तपुरले तीनवटा सालको गोलिया बरामद गरेको छ । राष्ट्रिय वनबाट सालको गोलिया ट्याक्टरमा लोड गरी जीराभवानी गाउँपालिका–५ मा पर्ने सुगीभार मन्दिरनजिक लुकाइराखेको अवस्थामा सुबेदार विनोदकुमार कुर्मी नेतृत्वको टोलीले बरामद गरेको थियो । बरामद गरिएको काठ १८ क्युफिट रहेको र आवश्यक कारबाइको लागि सबडिभिजन वन कार्यालय वसन्तपुरमा राखिएको सुबेदार कुर्मीले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्