Techie IT
सोमबार, वैशाख ६,२०७८

कोरोनाभाइरस खोप नेपाल: संसद् बैठकअघि मन्त्री र सांसदहरूले कोभिड खोप लगाउँदै, प्रधानमन्त्रीले कहिले?


काठमाडौँ ।
काठमाण्डूको नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने खोपकेन्द्रमा सभामुख अग्नि सापकोटासहित पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधवारै खोप लगाएका छन्। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयले दुवै सदनका ३३४ सांसद, संसद् सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकार लगायत करिब १,५०० जनालाई खोपलगाउन व्यवस्था मिलाइएको छ।

“मानव सभ्यतामाथि चुनौतीको रूपमा खडा भएको महामारीका बेला खोप लगाइसकेपछि त्यसमाथि पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएकोछ,” खोप लगाएपछि पत्रकारहरूसँग सभामुख सापकोटाले भनेका छन्।

आइतवारबाट सुरु हुने पुनर्स्थापित संसद्को हिउँदे अधिवेशनअघि सबै सांसदहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसक्ने लक्ष्य रहेको उनको भनाइ छ।

खोप नलगाएका सांसदले बैठकमा भाग लिन पाउँछन् ?

संसद् सचिवालयको स्वास्थ्य सेवा एकाइका प्रमुख डाक्टर पुष्प रिजालले खोप लगाउने नलगाउने व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले संसद् बैठकमा सहभागिताका लागि खोप लगाउनैपर्ने बाध्यकारी व्यवस्था नगरिएको बताए।

“खोपलगाउन सबैलाई अनुरोध गर्ने हो तर लगाउने नलगाउने व्यक्तिको आफ्नै कुरा हो। हामीले अनिवार्य गरेका छैनौँ,” उनले भने।

यसअघिको संसद् अधिवेशनमा पीसीआर विधिबाट परीक्षण गरी कोरोनाभाइरस सङ्क्रमण नभएको यकिन भएपछि मात्रै सांसदहरूले बैठकमा भाग लिन पाउँथे।

आगामी अधिवेशनमा कुनैपनि परीक्षण अनिवार्य नगरिएको सचिवालयका प्रवक्ता पाण्डेले जानकारी दिए।

“हामीले बैठक कक्षमा सामाजिक दूरी कायम रहने गरी बस्ने व्यवस्था मिलाएका छौँ। संसद् भवनभित्र प्रवेश गर्नासाथ सेन्सरजडित थर्मल क्यामराबाट सबै माननीयज्यूहरूको ज्वरो नापिन्छ।

बैठक कक्षको निसङ्क्रमण गर्ने, ठाउँ ठाउँमा स्यानिटाइजर राख्ने र सरसफाई कायम राख्ने व्यवस्था मिलाएका छौँ” प्रवक्ता पाण्डेले भने।

संसद् भवनमा राखिएको थर्मल क्यामरामा उच्च ज्वरो देखिएका सांसदहरूलाई भवनमै रहेकोआइसोलेशन कक्षमा प्राथमिक उपचारपछि अस्पताल लैजाने व्यवस्था मिलाइएको डाक्टर रिजालले बताए।

प्रधानमन्त्रीले कहिले लगाउँछन् खोप?

पूर्व प्रधानमन्त्री प्रचण्ड कोभिड खोप लिँदै

संसद् विघटन र पुनर्स्थापनाको राजनीतिक घटनाक्रमसँगै भीडभाड हुने कार्यक्रममा उपस्थिति बाक्लो रहेपनि प्रधानमन्त्री ओलीले हालसम्म कोरोनाभाइरस विरुद्धको खोप नलगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बीबीसी नेपाली सेवालाई बताए।

प्रधानमन्त्री ओलीको खोप लगाउने योजना रहेको तर कहिले लगाउने निश्चित भइनसकेको थापा बताउँछन्।

“प्रधानमन्त्रीले पनि खोप लगाउनुभएको छैन उहाँको टीम हामी कसैले पनि लगाएका छैनौँ, हाम्रो चाहना फ्रन्टलाइनरले लगाउन पाउन् भन्ने हो,” थापाले भने।

सरकारले दीर्घरोग भएका व्यक्तिहरूलाई कोरोनाभाइरस विरुद्धको खोप कार्यक्रममा प्राथमिकतामा राखेको छ। दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका ७० वर्षीय प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्छन्।

सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुँदा प्रधानमन्त्रीले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउने गरेको सल्लाहकार थापाको दाबी छ।

स्वास्थ्य मन्त्रालयले मुटु, मस्तिष्क, फोक्सो, मृगौला र क्यान्सर भएका दीर्घरोगीलाई कोरोनाभाइरसविरुद्ध खोप दिन मिल्ने बताएकोछ। मन्त्रालयले पहिले खोप लगाउँदा गम्भीर एलर्जी देखिएका, खोपको एलर्जी हुने, १८ वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई चाहिँ कोभिशील्ड खोप नलगाउन भनेकोछ।

जसअनुसार प्रधानमन्त्री ओलीलाई समेत खोप लगाउँदा कुनै खतरा नहुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्।

आइतवार काठमाण्डूमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भनेका थिए- “हामी भन्दा पहिले यो खोप लगाउनुपर्ने आवश्यकता अरूमा जरुरी थियो। हामी नैतिक रूपमा पनि यसका लागि योग्य थिएनौँ। अब दोश्रो चरणको खोपमा म पनि योग्य हुन्छु र धेरै मन्त्री तथा सांसद साथीहरूले पनि लगाउनुहुन्छ,” उनले भने।

क कसले लगाए कोरोना विरुद्धकोखोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म चार लाख २८ हजार बढीले यो खोप लगाइसकेका छन्।

जसमा सबैभन्दा धेरै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू छन्। स्थानीय तहका जनप्रतिनिधिले लगाएपनि प्रदेश र संघीय सांसदहरूलाई सरकारले पहिलो चरणमा खोपकोप्रा थमिकतामा राखिएको थिएन।

कोभिशिल्ड

अहिलेसम्म कुन समूहका कतिजनाले खोप लगाए ?

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू – १,३७,८८६

जिल्ला तथा पालिका स्तरका सरकारी कर्माचरी – ४८,२६६

ब्याङ्किङ कारोबार गर्ने कर्मचारी – ४९,७६९

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरू – ३३,६९५

महिला स्वास्थ्य स्वयंसेविकाहरू – ३२,९३८

नेपाल प्रहरी – ३२,२२३

सशस्त्र प्रहरी – २२,१४९

प्राधिकरण कर्मचारी – १८,८६९

जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी – २१,०६०

पत्रकारहरू – ६,७८९

फोहोर सङ्कलक र सरसफाइकर्मी – ६,५५५

कोरोनाबाट मृत्यु भएकाहरूको शव व्य व्वस्थापनमा खटिने सुरक्षाकर्मी – ४,८६०

जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालय – ३७५

वृद्धाश्रममा आश्रित नागरिक र हेरालु – ३,३३८

एम्बुलेन्स तथा शव वाहन चालकहरू – १,७६५

अन्य – १,६४१

नेपाली सेना – १,५१७

अन्तराष्ट्रिय सीमामा खटिने कर्मचारीहरू – १,३९४

संयुक्त राष्ट्रसंघ र कुटनैतिक नियोगका कर्मचारी – १,१४०

स्रोत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

संसद् सचिवालय स्रोतका अनुसार केही सांसदहरूले यसअघि नै खोप लगाइसकेको बताएका छन्।

कम्तीमा चारजना सांसदहरूले संसद् सचिवालयलाई पहिल्यै खोप लगाइसकेको जानकारी गराएको एक अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमै स्थानीय जनप्रतिनिधिहरूलाई खोप लगाएपनि प्रदेश र संघीय सांसदहरूलाई खोपको प्राथमिकतामा राखेको थिएन।

कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले नेपालमा खोपको स्वीकारोक्ति ८४ प्रतिशत भन्दा बढी देखिएको दाबी गरे।

उनका अनुसार खोप लगाउन तयार हुने सङ्ख्या नेपालमा धेरै देशहरूको भन्दा राम्रो हो।

तर सरकारले पहिलो चरणमा लक्ष्यित गरेको स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजारलाई खोप लगाउने योजनामा हेरफेर गरेर ५ लाख ७ हजार लक्ष्यित समूह तय गर्नुपर्नाको कारण भने स्पष्ट गरेको छैन।

नेपालमा हालसम्म खोप लगाएका मध्ये ९ जनालाई मात्र उच्च ज्वरो देखिएको र हाल सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

खोपपछि १,९११ जनालाई टाउको दुख्ने, जीउ दुख्ने, जोर्नीहरू दुख्ने, मध्यम ज्वरो आउने, वाकवाक लाग्ने र सुई लगाएको ठाउँमा दुख्ने जस्ता सामान्य लक्षण देखिएको उप्रेतीले जानकारी दिए।(बीबीसी)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्