Techie IT
बुधबार, कात्तिक ५,२०७७

स्याङ्जा जिल्ला अदालतद्वारा ५५ प्रतिशत मुद्दा फछ्र्योट


काठमाडौं,भदौ ५

स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६/७७ मा ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले ६७।२७ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकामा विश्वभर फैलिएको कोभिड­१९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताएका छन् ।

“चैत ९ गतेसम्म ५५।०४ प्रतिशत मुद्दा फछ्र्योट भइसकेको थियो” स्रेस्तेदार रेग्मीले भने, “लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्योट हुने अवस्था थियो तर कोभिड­१९ को बन्दाबन्दीका कारण लक्ष्य पनि भेटाउन सकेनौँ ।” अदालतमा आर्थिक वर्ष २०७५÷७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६/७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये स्याङ्जा जिल्ला अदालतबाट ४७५ वटा मुद्दा फछ्र्योट भएको स्रेस्तेदार रेग्मीले बताए ।

“आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६/७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये अदालतबाट गत आर्थिक वर्ष २०७६/७७ मा ६६४ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेको थियो” स्रेस्तेदार रेग्मीले भने, “कोभिड­१९ को बन्दाबन्दीको प्रत्यक्ष असर अदालतमा पनि परेकाले लक्ष्य अनुसार मुद्दा फछ्र्योट हुन नसकी ५५।५६ प्रतिशत मुद्दा फछ्र्योट भएको हो ।”

अन्य मुद्दाको तुलनामा स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा सम्बन्धविच्छेदका २३९ वटा मुद्दा दर्ता भएकामध्ये सम्बन्धविच्छेद हुने गरी १९० वटा मुद्दा मिलापत्र भएका छन् ।

स्रेस्तेदार रेग्मीका अनुसार स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेद, लागूऔषध ओसारपसार, जबरजस्ती करणी, अंशवण्डा, मानाचामल, कर्तव्यज्यान, केही सार्वजनिक अपराध मुद्दा, चोरी, मानव बेचविखन, कुटपिट तथा लुटपाटजस्ता मुद्दाहरु दर्ता भएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्