इथिओपिआ द्वन्द्व: बीबीसीका पत्रकार सेनाको हिरासतमा
काठमाडौँ ।
इथिओपिआको द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा रहेका बीबीसीका सम्वाददातालाई त्यहाँको सेनाले हिरासतमा लिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार बीबीसी टिग्रिन्या सेवाका ती पत्रकार गरमेअ गेब्रुलाई अन्य चारजना मानिसहरूसँगै क्षेत्रीय राजधानी मेकेलेबाट सेनाले कब्जामा लिएको थियो।
पत्रकार गिरमेलाई मेकेलेस्थित एक सैनिक शिविरमा राखिएको बताइएको छ।
बीबीसीले उनलाई गिरफ्तार गर्नुपर्नाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ र इथिओपिआका अधिकारीहरू समक्ष सो गिरफ्तारीको विषयमा आफ्नो चिन्ता व्यक्त गरेको छ।
त्यहाँ हालैका दिनहरूमा फाइनान्सिअल टाइम्स र एएफपी न्यूज एजेन्सीका लागि काम गर्ने एकजना स्थानीय पत्रकार टामिराट येमाने र दुईजना दोभाषे आलुला अकालु र फिट्सम बरहेनलाई हिरासतमा लिइएको छ।
इथिओपिआको सरकारले गत नोभेम्बर महिनादेखि टिग्रेमा विद्रोही सैन्यसँग लडाईँ गरिरहेको छ।
द्वन्द्व
टिग्रेमा द्वन्द्व सुरु भएयता महिनौँसम्म कडा रूपमा सञ्चारजगतमाथि प्रतिबन्ध लागु गरेका अधिकारीहरूले गत हप्तादेखि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई त्यहाँ प्रवेश दिएका थिए।
एएफपी र फाइनान्सिअल टाइम्स दुवैले त्यहाँको द्वन्द्वको समाचार संकलन गर्ने अनुमति प्राप्त गरेका थिए।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार गरमेअलाई पक्राउ गर्ने कार्यमा सेनाको औपचारिक पोशाक लगाएका सैनिकहरू संलग्न थिए।
बीबीसीका एकजना प्रवक्ताले भनेका छन्: “हामीले इथिओपिआका अधिकारीहरू समक्ष हाम्रो चिन्ता व्यक्त गरेका छौँ र तिनीहरूको जवाफको प्रतिक्षा गरिरहेका छौँ।”
लडाईँ
टिग्रेमा सरकारले विद्रोही टिग्रे लिबरेशन फ्रन्ट माथि जीत हासिल गरेको घोषणा गरेको भएतापनि त्यहाँ लडाईँ जारी रहेको छ।
द्वन्द्वका क्रममा सयौँको ज्यान जानुका साथृ हजारौँ विस्थिपित भएका छन्।
द्वन्द्वरत सबै पक्षबाट अत्याचारहरू भएको र त्यहाँ मानवीय संकटको अवस्था झन खराब हुँदै गएको भनेर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू पनि व्यक्त भैरहेका छन्।
इथिओपिआको सत्ताधारी पार्टीका एकजना अधिकारीले हालै चेतावनी दिँदै “अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई गलत सूचना दिने” मानिसहरू विरुद्ध कडा कदम चालिने बताएका थिए।(बीबीसी)
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्