Techie IT
१५ साउन २०७८, शुक्रबार

सुर्मा ताल सुकेपछि स्थानीय चिन्तित


बझाङ ।
बझाङको सुर्मा गाउँपालिकास्थित सुर्मा सरोवरको कहिल्यै नसुक्ने सुर्मा ताल सुकेपछि स्थानीय चिन्तित बनेका छन् । साथै ताल कसरी सुक्यो भन्ने चासोको विषय समेत बनेको छ । सुर्माका स्थानीय प्रत्येक हिउँद (मंसिर–पुस)मा जडीबुटी र वैशाख–जेठतिर यार्सा संकलनका लागि सुर्मा सरोवर पुग्थे । ‘मंसिर–पुसतिर जाँदा सरोवर झन् सुन्दर देखिन्थ्यो । चारैतिर अग्ला डाँडाको बीचमा नीलो पानी, जति हेरे पनि हेरिरहुँ लाग्थ्यो’, स्थानीय बिनय बोहराले भने । अहिले ताल सुकेको देख्दा उनी आफैँ अचम्ममा परेका छन् । १०/११ वर्षको उमेरदेखि त्यहाँ जान थालेका उनी १४/१५ पटकसम्म सुर्मा सरोवर पुगेको बताउँछन् । तर यसअघि कहिल्यै तालको पानी घटेको समेत थाहा पाएका थिएनन् ।

सुर्मा सरोवर सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको यो ताल बझाङ सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दूरीमा पर्छ । यो तालमा दुर्गादेवीका १६ बहिनीमध्येकी एक सुर्मादेवीको बास रहेको धार्मिक मान्यता छ । यसलाई हिन्दु धर्मावलम्बीहरू सानो कैलाशका रूपमा पनि पूजा गर्छन् । जनैपूर्णिमाका दिन यहाँ विशेष मेला पनि लाग्छ ।

दार्चुला र बझाङलगायत सुदूर पहाडका स्थानीयलाई सरोवर सुकेको खबरले झस्काएको मात्रै छैन, केही अनिष्ट हुने डरले त्रसितसमेत छन् । त्यहाँ पुग्नेको मनमौजी व्यवहार र सुर्मादेवीको मर्यादा नराखेका कारण देवी रिसाएर यस्तो भएको हुनसक्ने सुर्माका ६० वर्षीय कुया बोहराले बताए । उनका अनुसार त्यहाँ जाँदा खाली खुट्टा जानुपर्ने, लसुनप्याज खान नहुने, यौनजन्य गतिविधि गर्न नहुने मान्यता छ । ‘

अहिले मानिसले मनपरी गर्न थाले । देवीको मर्यादा नै नराख्दा । देवी रिसाएर नै ताल सुकेको हुनुपर्छ,’ स्थानीय भन्छन् । ताल सुकेको खबरले जनप्रतिनिधि समेत चकित परेका छन् । सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले पनि देवी रिसाएर नै यस्तो भएको हुनसक्ने बताए । तालको नापजाँच गर्दा देवी रिसाउँछिन् भन्ने मान्यता रहेकाले यसको यकिन गहिराइ र क्षेत्रफलसमेत हालसम्म किटान गरिएको छैन । ‘देखेको आधारमा अन्दाजी छ फिट गहिरो र छ सय वर्गमिटर जति क्षेत्रफल होला,’ उनको अनुमान छ ।

सुर्मा सरोवर सुक्नुको कारण अध्ययनपछि मात्रै यकिन हुन सक्ने ताल तथा पानीविज्ञ बताउँछन् । ‘अध्ययन नगरीकनै यही कारणले सुक्यो होला भन्न त गाह्रो छ,’ पानीविज्ञ अजय दीक्षितले भने, ‘तापक्रम वृद्धि भएर पानी बाफ भएर उडेको, जलाधार क्षेत्रमा रहेका मुहानहरू सुकेका कारण तालमा पानी अभाव भएको वा कुनै भौगर्भिक परिर्वतनले सुकेको अनुमान मात्रै गर्न सकिन्छ ।’ उनले केही वर्षयता विभिन्न कारणले वातावरण र जलवायु परिवर्तन भइरहेकाले हामीले वर्षौंदेखि देख्दै भोग्दै आएको वातावरणीय अवस्था भोलि पनि त्यस्तै रहन्छ भनेर ठोकुवा गर्न नसकिने अवस्था आएको बताए ।

उच्च स्थानमा रहेको र कहिल्यै नसुकेको ताल एक्कासि सुक्नु वातावरणीय हिसाबले ठूलो मुद्दा भएकाले यसको अध्ययन हुनुपर्ने अर्का पानीविज्ञ डा. दीपक रिजालले बताए । ‘यो आश्चर्यजनक र महत्वपूर्ण वातावरणीय घटना हो । ताल किन सुक्यो भन्नेबारे गहन अध्ययन आवश्यक छ’, केही वर्षपहिला सेती नदी र यसको जलाधार क्षेत्रमा रहेका तालतलैयाको अध्ययनको नेतृत्व गरेका उनले भने, ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसको दीर्घकालीन असरबारे बुझ्नका लागि पनि अध्ययन गरिनु जरुरी छ ।’ उनले तालको आसपासमा रहेका मुहान सुकेका कारण ताल सुकेको हो कि भन्ने अनुमान गरिए पनि अध्ययनबिना के कारणले सुक्यो भनेर ठोकुवा गर्न नसकिने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्