Techie IT
१२ साउन २०७८, मंगलबार

आदर्श सञ्चार सहकारीको अर्ध वार्षिक समिक्षा बैठक सम्पन्न


काठमाडौं ।

सूचना र सञ्चारसंगै वित्तीय कारोबार गर्दै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अर्धवार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी छलफल कार्यक्रम शनिवार सम्पन्न भएको छ । संस्थाका संञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ को अर्धवार्षिक अवस्था र आगामी योजनाका बारेमा छलफल भएको थियो ।

२०८० सालसम्म गण्डकी प्रदेशको उत्कृष्ट सहकारी संस्था तथा सवल सञ्चारगृहका रुपमा स्थापित गर्ने रणनीतिक योजनाका साथ अगाडि बढेको संस्थाले लक्ष्य अनुसार नै प्रगति गर्दै गएको सो अवसरमा जानकारी गराइएको थियो । कोरोना संक्रमणका कारण गत आर्थिक वर्षको अन्तिम र चालु आर्थिक वर्षको शुरुमा केही समस्या भए पनि संस्थाले १० वर्षे रणनीतिक योजना अनुसार नै वार्षिक रुपमा प्रगति गरेको र यस आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार नै काम गर्न सफल भएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिए ।

संस्थाको रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड ८५ लाख शेयर पूँजि, ४० करोड वचत, ३८ करोड कर्जा लगानी र ५० करोड कुल सम्पत्ती पु¥याउने लक्ष्य लिएकोमा हाल २ हजार ५ सय जना शेयर सदस्य, ३३ करोड शेयर पूँजि, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको छ ।

संस्थाको रणनीतिक योजना अनुसार २०८० सालको असार मसान्तसम्ममा संस्थालाई गण्डकी प्रदेशको उत्कृष्ट सञ्चारगृहका रुपमा स्थापित गर्ने, ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर पूँजि, ८० करोड वचत, ७५ करोड कर्जा लगानी र १ अर्बको कुल सम्पत्ती पु¥याउने लक्ष्य रहेको अध्यक्ष जिसीले जानकारी दिइन् ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा संस्थाको योजना र लक्ष्य पुरा गर्नका लागि सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरुको भूमिका प्रभावकारी हुनु पर्ने र त्यसका लागि शिक्षा, तालिम, समिक्षा, अन्तरक्रिया तथा छलफल कार्यक्रम निरन्तर आवश्यक रहेको जिसीको भनाइ छ ।

अर्धवार्षिक समिक्षाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमला गिरीले गरेकी थिइन् । सो अवसरमा बोल्दै उनँले सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि नीति, विधि र प्रविधिको प्रयोगसंगै कर्मचारी र सञ्चालकहरुको सक्रियता आवश्यक रहेको बताइन् । सञ्चालक र कर्मचारीले आफ्नो जिम्मेवारी सदैब बोध गर्न सकेमा मात्रै सहकारीहरुल्े लक्ष्य अनुसार प्रगति गर्न सक्ने भएकाले उनीहरुको क्षमता विकासका लागि संस्थाको योजना आवश्यक रहेको बताइन ।

कार्यक्रममा सिजना महिला बचत तथा ऋण सहकारी संस्था पोखराका अध्यक्ष पवित्रा के.सी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाको वित्तीय लगायत समसामयिक अवस्था, र रणनीतिक योजना अनुसार यस आर्थिक वर्षका लक्ष्य तथा प्रगति र गर्नु पर्ने कामका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु)को अध्यक्षता, सल्लाहकार रुद्र महतको स्वागत तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्