Techie IT
१५ साउन २०७८, शुक्रबार

भानु जन्मस्थल पुनः सङ्घ मातहत


दमौली ।
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनःसङ्घीय सरकार मातहत राखिएको हो । शुक्रबार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब सङ्घीय सरकारले गर्ने तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

“स्थानीयस्तरबाट पनि जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग भइरहेको थियो, लामो समयको प्रयासपछि उक्त कामले सार्थकता पाएको छ,” श्रेष्ठले भने । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय सरकार मातहत आएको विकास समितिलाई सङ्घ सरकार मातहत नै राखेर थप व्यवस्थित बनाउनुपर्ने आवाज उठेको थियो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विकास समितिलाई नगरपालिका मातहत राखिएको परिपत्र मन्त्रालयबाट प्राप्त भए पनि आफूहरुले यसलाई सङ्घ सरकार मातहत नै राख्न पटकपटक ध्यानाकर्षण गराएको बताए । यसअगाडि जन्मस्थल विकास समितिलाई सङ्घ सरकार मातहत नै राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराइएको थियो ।

भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन छ । समितिमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त भएका छैनन् । भानुभक्त आचार्यको स्मृतिमा शिखरकटेरीमा रामायण भवन निर्माण भए पनि कसले संरक्षण गर्ने भन्ने द्विविधा रहँदै आएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु. तीन करोडको लागतमा रामायण भवन निर्माण भएको छ । शिखरकटेरीमा निर्माण गर्ने भनिएको भानुगृहको काम भने हालसम्म अगाडि बढ्न सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो ।

वि.सं. २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गरेका थिए ।

भानृ गृह करीब रु. ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि अझै निर्माण शुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले राससलाई बताए । वि.सं. २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा वि.सं. २०६१ जेठमा आगलागी भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्