Techie IT
१५ साउन २०७८, शुक्रबार

दोलखामा व्यक्तिगत प्यान लिनेको संख्यामा वृद्धि


दोलखा ।
दोलखामा आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालय आएपछि व्यक्तिगत स्थायी लेखा नम्बर परिचयपत्र (प्यान नम्बर) लिनेको संख्या वृद्धि भएको छ । जिल्लामा पाँच महिनाको अवधिमा चार सय ८९ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन् । त्यस्तै छ सय ९७ जनाले व्यवसायको आयकर दर्ता गरेर प्यान लिएका छन् भने ६९ जनाले अन्तशुल्क दर्ताको प्यान लिएका छन् ।

त्यसैगरी कार्यालय प्रायोजनको लागि २६ वटा डब्लु प्यान दर्ता भएको पाइएको छ भने ६७ वटा भ्याट दर्ता भएको कर कार्यालय दोलखाका कर अधिकृत देवानन्द काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार आन्तरिक राजस्व विभागले तीन हजारभन्दा बढीको पारिश्रमिक तथा ज्यालाको भुक्तानी लिनका लागि अनिवार्य प्यान नम्बर लागू गरेकाले पनि पछिल्ला दिनमा व्यक्तिगत प्यान र व्यवसायको प्यान तथा भ्याट लिनेको संख्या वृद्धि भएको हो ।

पकटे प्रकृतिका तीन हजारसम्मको भुक्तानीबाहेक कर्मचारी, कामदारहरूलाई वितरण गरेको तलब भत्ता तथा ज्याला खर्चमा प्यान अनिवार्य गरिएको उनले बताए । त्यसैगरी विभागले दुई हजारभन्दा बढीको प्यान उल्लेख नभएको बिजकको खर्च भुक्तानी दिनलाई प्यानमा दर्ता हुनुपर्ने भएपछि जिल्लामा प्यान नम्बर लिने बढेका हुन् । कर कार्यालयमा बढी मात्रामा सहकारीका कर्मचारी, गाउँपालिका वडा कार्यालयका कर्मचारी, विद्यालयका कर्मचारी र सडक पेटीमा काम गर्ने कर्मचारीले प्यान लिने गरेका छन् ।

त्यसैगरी नेपालभर जुनसुकै ठाउमा व्यवसाय खोलेका सानाठूला जुनसुकै रकमका उद्योग, कलकारखाना तथा व्यवसायले अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने भएकाले भ्याटमा दर्ता गर्ने व्यवसायी बढेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । आन्तरिक राजस्वको कर कार्यालय बसेपछि दोलखाबाट पाँच महिनाको अवधिमा सात करोड १७ लाख ६० हजार दुई सय १८ रूपैयाँ राजस्व उठेको छ ।

यसअघि सहज ठाउँमा कर कार्यालय नहुँदा वर्सौदेखि तिर्न बाँकी रहेको राजस्व उठ्न थालेको छ । जिल्लामै कार्यालय बसेपछि दुई तीन वर्षदेखिको बाँकी रहेको राजस्व तिर्न मान्छेहरू आउन थालेको उनले बताए । पुरुषको तुलनामा महिलाको नाममा बढी मात्रमा व्यवसाय तथा व्यक्तिगत प्यान नम्बर दर्ता भएको कर कार्यालय चरीकोटले जनाएको छ । दोलखाना राजस्व विभागमा दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरूको अनुगमन गरेर कानुनी रूपमा सञ्चालन गर्न कार्यालयले बजार अनुगमन गरिरहेको कर अधिकृत काफ्लेले बताए ।

त्यसैगरी जिल्लाका व्यवसायी, व्यापारीलाई राजस्व दाखिलासम्बन्धी र व्यवसाय दर्तासम्बन्धी जानकारी दिन दोलखा उद्योग वाणिज्य संघको सहकार्यमा कर करदाता सेवा कार्यालय दोलखाले शुक्रबार एक दिने करसम्बन्धी अनुशिक्षा कार्यक्रम समेत गरेको छ । पछिल्लो समय व्यवसायीहरूको व्यापार व्यवसायलाई थप प्रवद्र्धन तथा प्रोत्साहन गरी आयकर, मु.अ.कर, अन्तशुल्कसम्बन्धी विषयमा अन्तक्रिया कार्यक्रममार्फत नियमित आय विवरणसहितको राजस्व बुझाउन सहजीकरण गर्ने उद्देश्यले कर अनुशिक्षा कार्यक्रम गरिएको कर अधिकृत काफ्लेले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्