Techie IT
बिहीबार, कात्तिक ६,२०७७

५० लाख लागतमा जिल्ला अस्पताल बझाङमा ब्लड बैंक स्थापना


बझाड., भदौ ४
५० लाख लागतमा जिल्ला अस्पताल बझाङमा ब्लड बैंक स्थापना गरिएको छ । ब्लड बैंकको प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले औपचारिक रुपमा उद्घाटन गरेका छन् । जयपृथ्वी नगरपालिका र प्रतिनिधिसभा सदस्य सिंहको पहलमा स्थानीय क्षेत्र पूर्वाधार विकास कोषको ५० लाख लागतमा ब्लड बैंक स्थापना भएको हो ।

लामो समयदेखि रगतको अभाव खेप्दै आएको बझाङ अस्पतालको ब्लड बैंक सञ्चालनमा आएको छ । ब्लड बैंक सञ्चालनमा आएसँगै रगतको अभावमा गम्भीर प्रकृतिका बिरामीको ज्यान नै जोखिममा हुने अवस्था अब अन्त्य हुने आशा गरिएको छ । ‘चिकित्सक आफैंले रगत दिएर आफँैले बिरामीको अप्रेसन गर्नुपरेका थुप्रै घटना छन्’, जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले भने, ‘जिल्ला अस्पतालमा त्यस्तो कर्मचारी सायदै होला जसले आपत्कालीन अवस्थामा रक्तदान नगरेको होस् ।’ उनले कतिपय अवस्थामा रगत नपाएर बिरामी नै बाहिर जिल्ला रिफर गर्नुपरेको घटना पनि सम्झिए ।

जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीहरुमध्ये हप्तामा कम्तीमा दुई जनालाई रगतको आवश्यकता हुने गरेको छ । सुत्केरी हुँदा रगत आवश्यक परेका, शल्यचिकित्सा गरिएका, एनिमिया, ल्युकिमिया, रक्त क्यान्सर भएका तथा गम्भीर खालको दुर्घटनामा परेकाहरुलाई तत्काल रगत आवश्यक पर्ने गरेको छ । तत्काल रगत चाहिने बिरामीहरुको लागि अर्काे मुख्य दाता भनेको बझाङस्थित नेपाली सेना हुने गर्दथ्यो । ‘सेना, प्रहरी र अस्पतालका कर्मचारीबाट समयमै चाहिएको समूहको रगत नपाएमा बिरामीको ज्यानै जानेसम्मको जोखिम थियो’, डाक्टर खड्काले भने, ‘ब्लड बैंक स्थापना भएसँगै यो समस्या अन्त्य भएको छ ।’

ब्लड बैंक स्थापना भएपछि दाताबाट संकलित रगत तीनदेखि छ महिनासम्म सुरक्षित रुपमा भण्डार गरेर राख्न सकिने भएको छ । एक पटकमा ४० पिन्ट रगत स्टोर गर्न सकिनेछ । यसअघि रगत आवश्यक परेकाहरुलाई दाताबाट तत्काल रगत लिएर दिने गरिएको थियो । ब्लड बैंक स्थापनासँगै यो समस्या पनि हटेको छ । ब्लड बैंकमा रहेको सेन्टीफ्युज र प्लाज्मा कन्सन्टेटर मेसिनले रगतमा भएको राता रक्तकोष र प्लाज्मालाई छुट्याउनसक्ने प्रविधि पनि जडान गरिएकोले बिरामीलाई आवश्यक रगत मात्रै दिन सकिने जिल्ला अस्पतालका प्रमुख डाक्डर सन्दिप ओेखेडाले बताए ।

‘सबै बिरामीहरुलाई रगतमा भएको सबै तत्वहरु आवश्यक हुँदैन । तर हामीसँग यो छुट्याउने प्रविधि नहुँदा सबै रगत दिने गरेका थियौं’, उनले भने, ‘अब त्यो समस्या पनि अन्त्य भएको छ ।’ उनले ब्लड बैंकको स्थापनाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गम्भीर प्रकृतिका बिरामीको उपचार गर्ने सवालमा मनोबल समेत बढाएको बताए । ‘आवश्यक रगत उपलब्ध हुने नहुने निश्चित नहुँदा हामीलाई पनि जटिल खालका केसमा हात हाल्न गाह्रो हुने गरेको थियो । अब ढुक्क भएर काम गर्न सकिने अवस्था भयो’, डाक्टर ओखेडाले भने ।

सांसद सिंहले लामो समयदेखिको ब्लड बैंक स्थापना गर्ने बझाङ्गीको सपना पूरा भएको बताए । रगतको अभावमा अब कसैले छट्पटाउनु नपर्ने बताउँदै उनले आगामी वर्षभित्रै जिल्ला अस्पतालमा आईसीयू स्थापना गरिने बताए । ब्लड बैंकको लागि आवश्यक पर्ने सामग्री खरिद तथा स्थापना गर्ने काम जयपृथ्वी नगरपालिकाले गरेको हो । बायोमेट्रिक इन्जिनियरको सहयोगमा स्फेसिफिकेसन तयार गरेर सामग्री खरिद गरी ब्लड बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्