Techie IT
बुधबार, कात्तिक ५,२०७७

कोरोनासम्बन्धी कामको विवरण बुझाउन प्रदेश २ सरकारलाई अन्तरिम आदेश


जनकपुरधाम, भदौ ४
कोरोना महामारीको बेलामा प्रदेश नं. २ मा भएको कामको विवरण बुझाउन सरकारलाई उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलासले प्रदेश २ सरकारलाई कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी भएका कामहरूको विवरण बुझाउन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सुधिरकुमार कर्णले दायर गरेको रिटउपर सुनवाइ गर्दै अदालतले भदौ ७ गतेसम्म कोरोना नियन्त्रणसम्बन्धी साउन अन्तिमसम्म गरिएका मुख्य कामहरूको विवरण एवं सम्भावित कार्ययोजनाको विवरणसहित उपस्थित हुन आदेश जारी गरेको हो । अधिवक्ता कर्णले साउन १६ मा प्रदेश २ सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै कोरोना रोकथाम र नियन्त्रणतर्फ उदासीनता देखिएकोले अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्यको इजलासले रिट दायर भएकै दिन साउन १६ गते १५ दिनको म्याद दिँदै कोरोना रोकथाम र नियन्त्रणका लागि भएको कामको विवरणसहित उपस्थित हुन अल्पकालीन आदेश जारी गरेको थियो । साथै उच्च अदालतले पीसीआर टेष्टको दायरा बढाउनुका साथै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आदेश दिएको छ ।

निषेधाज्ञा कायम रहेको वर्तमान अवस्थामा आमनागरिकलाई दैनिक रुपमा आवश्यक पर्ने खाद्य सामग्री तथा तरकारी खरिदबिक्रीका लागि बिहान बेलुका निश्चित समय तथा ठाउँ निर्धारण गरी सुरक्षित बिक्रीवितरण गर्न आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाउन समेत अदालतले प्रदेश सरकारलाई निर्देशन दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्