Techie IT
बुधबार, मंसीर १०,२०७७

युवा उद्यमी भवन बाढीपहिरोको जोखिममा


दोलखा, भदौ ४
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाले लाखौँ खर्च गरेर चंखुमा निर्माण गरेको युवा उद्यमी भवनमा बाढीपहिरो जोखिम बढेको छ । गौरीशंकर गाउँपालिकाले यसअघि अस्थायी केन्द्र रहेको चंखुको गुरुम्फीमा रहेको सार्वजनिक जग्गामा युवा उद्यमी भवनको निर्माण गरेको थियो ।

उक्त स्थानमा भवन निर्माण गरेपछि भवन मात्रै नभएर स्थानीय बस्ती नै बाढी पहिरोको जोखिममा रहेको स्थानीयको भनाइ छ । गत साउन २२ गते राति सिङ्गो गाउँ नै विस्थापित हुनेगरी आएको बाढीपहिरोले उक्त भवनको आसपासको क्षेत्रलाई बगाएर बगरमा परिणत गरिदिएको छ । गत आर्थिक वर्षमा पालिकाले खोलानजिकको सार्वजनिक जग्गामा डोजर चलाएर खेलमैदान निर्माण गरेको थियो । खेलमैदान निर्माणपछि गाउँपालिकाले सोही क्षेत्रमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको युवा उद्यमी भवन निर्माण गर्ने स्टिमेट गरी ५० लाख रूपैयाँको लागतमा भवन निर्माण गरेको हो ।

खेलमैदान तथा सरकारी भवन निर्माण गर्नका लागि खोलाको तटीय क्षेत्र अतिक्रमण गरेका कारण गाउँमा बाढी पसेको स्थानीयको आरोप छ । गत साउन २२ गते अविरल वर्षासगै आएको बाढी गाउँमा छिर्दा ५ घरपरिवार विस्थापित बनेका थिए । साथै दुई घरपरिवारको घरबास नै उठेको स्थानीय बाढिपहिरोपीडित तेन्जी शेर्पाले बताए । प्राकृतिकरूपमा बगिरहेको खोलाको बीचबाट डोजर चलाउदा गाउँमा बाढी आएको उनले बताए ।

शेर्पाका अनुसार गाउँपालिकाले भवन निर्माण गर्न खोलाको बीचबाट डोजर चलाएर सडकको रूपमा निर्माण सामग्री ढुवानी गर्ने गरेकाले सोही ठाउँमा आएर खोला थुनिदा गाउँमा बाढी पसेको थियो । भवन निर्माण गर्न अन्यत्र सार्वजनिक जग्गा उपलब्ध नभएको र तत्कालीन समयमा त्यस क्षेत्रमा बग्ने खोला सानो भएकोले प्राविधिकले भवन निर्माण गर्न सोही ठाउँ उपयुक्त भएको ठहर गरेकाले उक्त ठाउँमा भवन निर्माण गरेको गौरीशंकर गाउँपालिका वडा नम्बर ६ चंखुका वडा अध्यक्ष प्रेम्बा शेर्पाले बताए ।

गाउँपालिकाका प्राविधिक अरुण घतानीले भने सो क्षेत्र भवन निर्माणको लागि नभई खेलमैदान निर्माण गर्न ग्राउन्ड बनाएको बताए । पछि वडा अध्यक्षसहित स्थानीयले सोही ठाउँमा भवन निर्माण गर्न उपयुक्त ठाउँ छनोट गरेकाले आफूले भवन निर्माणको स्टिमेट र डिजाइन दिएको बताए । नवनिर्मित युवा उद्यमी भवनको छेउमा भलबाढीको जोखिम र भित्तामा पहिरो झरिरहेकाले जुनसुकै बेला भवनलाई पहिरोले पुर्नसक्ने स्थानीय चन्द्र तामाङले बताए । बाढीपहिरो जोखिम क्षेत्रको पूर्वानुमान र मूल्यांकनबिना गाउँपालिका र प्राविधिकले खोलाको छेउमा भवन निर्माण गर्नाले आफूहरू पहिरोको शिकार बनेको पहिरोपीडित कुमार तामाङ बताउँछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्