Techie IT
बिहीबार, असोज १५,२०७७

गल्याङका किसानलाई दूधमा ४७ लाख रूपैयाँ अनुदान


दोलखा, भदौ ३
स्याङ्जाको गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट किसानहरूका लागि ४७ लाखभन्दा बढी रकम वितरण गरेको छ । गएको आर्थिक वर्षमा गल्याङका किसानहरूले दुध बिक्रीबाट ४७ लाख १२ हजार दुई सय ७७ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् ।

नेपालमा सम्भवतः सबैभन्दा धेरै दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको गल्याङ नगरपालिकाले विभिन्न १६ वटा दुध संकलन केन्द्र एवं फर्ममार्फत किसानलाई यो रकम वितरण गरेको हो । गल्याङमा दुग्ध विकास संस्थानले तोकेको दरभाउमा किसानले बिक्री गरेपछि त्यसबाहेकको १५ रुपैयाँ नगरपालिकाले अनुदान दिँदै आएको छ । पहिलो किस्ताअन्तर्गत ९७ हजार दुई सय ७६ लिटर दुध संकलन गरेका किसानले गल्याङ नगरपालिकाबाट १४ लाख ५९ हजार एक सय ४० रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो किस्ताअन्तर्गत एक लाख ५२ हजार ५ दशमलव ६ लिटर दुध बिक्रीबापत नगरपालिकाबाट किसानले २२ लाख ८७ हजार पाँच सय ८४ रुपैयाँ बुझेका छन् । कोरोना भाइरसको संक्रमणका कारण लकडाउनका भएकाले तेस्रो किस्तामा दुध बिक्री कम देखिएको छ । तेस्रो किस्ताअन्तर्गत चैतदेखि असारसम्म ६४ हजार तीन सय ७० दशमलव २ लिटर दुध बिक्री गरेबापत किसानले नौ लाख ६५ हजार पाँच सय ५३ रुपैयाँ प्राप्त गरेका छन् ।

दुध संकलन केन्द्र, सहकारी तथा फर्मका गरी नगरपालिकाबाट जम्मा छ सय ७६ जना किसानले अनुदान रकम बुझेका छन् । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई आत्मनिर्भर बनाउँदै व्यावसायिक बनाउनका लागि दिइएको अनुदान प्रभावकारी बनेको बताए । नगरप्रमुख अधिकारीले भने, ‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसान उत्साहित भएको पाएको छु । अझै उत्पादन बढ्ने क्रममा छ ।’

कोरोना भाइरसको जोखिमका कारण लकडाउनले केही समस्या भए पनि अहिले किसान व्यावसायिक बन्ने बाटोमा अग्रसर रहेको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले अनुदानको यो व्यवस्थाले वास्तविक किसानसामु अनुदान पुगेको बताए । उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिन सकिएमा मात्रै किसान व्यावसायिक बन्ने बताए ।

गल्याङ नगरपालिका पशु सेवा शाखाप्रमुख सुशिल अर्यालले दुध उत्पादनमा किसानको रुचि बढ्दै गएको पाइएको बताए । उनले दुधमा उत्पादन बढाउनका लागि किसानको आवश्यकताका आधारमा थुनेलो नियन्त्रणसहितका उपायहरू अपनाइएको बताउँदै २४सै घण्टा किसानको सम्पर्कमा रहनेगरेको जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्