घरेलुद्वारा करिब नौ हजार जनालाई सीपमूलक तालिम
बुटवल, भदौ ३
घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रूपन्देहीले गत आर्थिक वर्षको अन्त्यसम्म आठ हजार आठ सय ५२ जनालाई विभिन्न किसिमका सीपमूलक तालिम दिएको छ । कार्यालयको तथ्याङ्कअनुसार कार्यालयले सुरुदेखि गत आर्थिक वर्ष २०७६/७७ सम्म आठ हजार आठ सय ५२ जनालाई सीपमूलक तालिम दिएको हो । कार्यालयका उद्यम विकास सहजकर्ता अनन्त पन्थीले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म विभिन्न कार्यक्रमअन्तर्गतका सात हजार दुई सय ७५ जना, मेडेपा कार्यक्रमअन्तर्गत एक हजार पाँच सय ७७ जना गरी आठ हजार आठ सय ५२ जनाले तालिम लिएका छन् ।
त्यस्तै कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहहरूमा ९० जनालाई सीपमूलक तालिम दिएको छ । पन्थीका अनुसार कार्यालयले सिलाइकटाइ तालिम सैनामैना नगरपालिकामा २० जना, सियारी गाउँपालिकामा २३ जना, देवदह नगरपालिकामा २० जना, मायादेवी गाउँपालिकामा मोटर ड्राईभिङ तालिम १७ जना सैनामैनामा मोबाइल मर्मत तालिम १०जनालाई गरी जम्मा ९० जनालाई सीपमूलक तालिम दिएको छ । कार्यालयमा गत आर्थिक वर्षमा मात्र तीन सय ६७ साना, चार घरेलु र एक लघु उद्यम दर्ता भएका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म साना, घरेलु र लघु उद्यम गरी १३ हजार चार सय ८४ उद्योग दर्ता भएका छन् । दर्ता भएका १२ हजार आठ सय ८४ साना उद्योगहरूले ८१ हजार नौ सय ८५ जनालाई रोजगारी दिएका छन् । तीन सय ७८ घरेलु उद्योगहरूले आठ सय ६२ जनालाई रोजगारी दिएका छन् भने दुई सय २२ लघु उद्योगहरूले छ सय ६८ जनालाई रोजगारी दिएका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्