Techie IT
सोमबार, फागुन २४,२०७७

नेताज्यू, समय खेर नफालौं !


फरक मत : समय बलवान् हुन्छ भने यो एक सीमाकारी साधन पनि हो । तर, नेताहरुले समय बलवान् हुन्छ भनेर मात्र बारम्बार भन्दै आएका छन् । हरेक राजनीतिक पार्टी र नेताले नीति, सिद्धान्त र विचार सम्बन्धमा जतिसुकै झ्याली पिटे पनि राष्ट्रनिर्माणसम्बन्धी ठोस कार्य सम्पन्न गर्ने मामिलामा गत ३१ वर्षको समयलाई उचित ढंगले प्रयोग नगरेको सजिलै प्रमाणित गर्न सकिन्छ । पछिल्लो ज्वलन्त उदाहरण त हालसालै नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक कलहमा जनताले चुनेका जनप्रतिनिधिहरुले खेर फालेको अनुत्पादित चार/पाँच महिनाको समय हो ।

गत ३१ वर्षको समयावधिमा राजनीतिक मामिलामा व्यस्त भएकोले तीन करोड जनताले सबैभन्दा चासो लिएको आर्थिक तथा सामाजिक विकासमा ध्यान दिन नपाएको भन्ने भनाइ व्यवस्थापन शास्त्रको सामान्न ज्ञानअनुसार पनि अत्यन्तै गैरजिम्मेवारी तर्क मान्नुपर्छ । राजनीतिक गतिविधि एक ट्र्याकमा गइरहँदा सोही समय अवधिमा विकास निर्माण र उद्योग व्यापार क्षेत्रलाई सँगसँगै अर्को ट्र्याकमा दौडाइराख्न सक्नुपर्ने हो ।

समयको उचित प्रयोग गर्न नजानेसम्म विचार, नीति, सिद्धान्त र राजनीतिक विचारधाराको कुनै अर्थ रहँदैन । मुलुक चलाउने जिम्मा लिएका राजनीतिज्ञहरु र कर्मचारीतन्त्रले बुझ्न जरुरी छ कि समय पूर्णतया अपूरणीय वस्तु हो र अन्य जुनसुकै स्रोत र साधनको विकल्प हुनसक्छ तर समयको विकल्प हुँदैन । सामान्य लाग्ने यो तथ्य नेतृत्वतहमा बस्ने राष्ट्र हाँक्ने व्यक्तिहरूले बिर्सेको कारणले नै राष्ट्रिय समस्याहरु उत्पन्न भइरहेका हुन् र ठूला–ठूला राजनीतिक दुर्घटनाहरु भएको हो ।

राष्ट्रनिर्माणजस्तो महान् र महत्वपूर्ण कामका लागि एक दिनको समय पनि खेर फाल्न नहुने परिप्रेक्ष्यमा सत्तापक्ष र विपक्षका जनप्रतिनिधिहरुले निर्वाचित भइसकेपछि हरेक दिन के–कस्तो काममा व्यस्त रहेको थियो भन्नेबारे लेखाजोखा आफैँले गरी विश्लेषण गर्नु उचित हुन्छ । उनीहरूले विगतका दिनहरुमा केकसरी समय बिताएका थिए । पछाडि फर्केर हेरेको खण्डमा भविष्यमा सुधार गर्दै अघि बढ्नमा पनि मद्दत हुनेछ ।

अनुत्पादित कार्यमा कति समय खेर फालियो, पारिवारिक दिनचर्यामा कति समय बिताइयो र जुन उद्देश्यका लागि जनताले ‘जनप्रतिनिधि’ भनी चुनेर पठायो, त्यो उद्देश्य हासिल गर्ने महान् कार्यमा कति समय खर्चियो भन्नेबारे हरेक जनप्रतिनिधिले एक सूची तयार पार्ने जमर्को गरेमा भोलिका दिनहरूमा आफ्नो क्षमता वृद्धि गर्दै लैजान सहयोग पुग्नेछ । व्यवस्थापकीय सिद्धान्तअनुसार जुनसुकै तर्क लगाएर जतिसुकै सशक्त रूपमा आफ्नो विचार वा धारणा सार्वजनिक गरे पनि उक्त धारणा व्यक्त गर्न लाग्ने समयभन्दा निकै बढी समय र मिहिनेत कार्यान्वयन गराउने विषयमा खर्च गर्नुपर्ने हुन्छ ।

एक राजनीतिज्ञको लागि जनसम्पर्क, सभा–समारोह, अन्तर्वार्ता, बैठक, भेटघाट आदि आवश्यक भए पनि खासै अर्थ नराख्ने क्रियाकलापमा भाग नलिने आँट पनि गर्नैपर्ने हुन्छ । कुनै–कुनै कार्यको हकमा पार्टीको अन्य कार्यकर्तालाई अधिकार प्रत्यायोजन गरी अधिकतम समय प्राथमिकतामा पर्ने गहकिलो क्रियाकलापमा बिताउने वातावरण सिर्जना गर्ने कलाकौशल पनि सिक्दै जानुपर्ने हुन्छ ।

समय सदुपयोग सम्बन्धमा ध्यान दिनुपर्ने अर्को एक पक्ष के छ भने अधिकांश व्यक्तिहरूका हकमा साधारणतया आफ्नै कारणले समय खेर गइहेको हुन्छ र ती कारक तत्वहरु आफ्नै नियन्त्रणमा हुने हुँदा आफूले चाहेको खण्डमा त्यसलाई सजिलै निराकरण गर्न सक्छ । तर, पार्टी, सरकार, संसद्जस्ता निकायहरुको आन्तरिक व्यवस्थापकीय कमी÷कमजोरीको कारण समय खेर गइरहेको हो भने व्यक्ति विशेषको पहलले मात्र केही गर्न सक्तैन ।

अतः मनुष्यका लागि समय मूल्यवान् र दुर्लभ सम्पदा हो र यसलाई व्यवस्थित नगरेसम्म अरू कुनै पनि कामको व्यवस्थापन गर्न सक्दैन । आफूसँग भएको समयको उपयोगबारे विश्लेषण सजिलो र सुगम कार्य भए पनि शीर्षनेतादेखि हरेक राजनीतिज्ञले आफ्नो काम, कर्तव्य र अधिकारको सही विश्लेषण गरी समयको सदुपयोग नगरेसम्म नीति र विचारको ठूला–ठूला भाषणले मात्र जनताले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन सक्दैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्